NM KHABAR
अर्थ / वाणिज्य

उपभोक्ताको ढाड सेक्ने गरी इन्धनको मूल्य वृद्धि: पेट्रोल लिटरकै २०२ रुपैयाँ पुग्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँले भारी वृद्धि गरेको छ। काठमाडौंमा पेट्रोलको मूल्य २०२ पुगे पनि निगमले घाटा नै देखाएको छ।
Nmkhabar 2 April 2026, 11:28 pm २ मिनेटको पढाइ
Text:
विज्ञापन Sponsor

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टितेल तिनै प्रकारका इन्धनको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले बढाएको हो। नयाँ मूल्यसूची चैत २० गते (सोमबार मध्यरात) बिहानैदेखि लागु भइसकेको निगमले जनाएको छ। इन्धनको मूल्य आकासिएसँगै बजारमा समग्र महँगी र ढुवानी भाडा बढ्ने निश्चित भएको छ।

काठमाडौं र पोखरामा कति पुग्यो ?

 निगमले तय गरेको नयाँ मूल्यसूची अनुसार तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ। यसअघि यी स्थानमा पेट्रोलको मूल्य १८७ रुपैयाँ थियो। त्यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६७ रुपैयाँबाट बढेर १८२ रुपैयाँ कायम भएको छ।

तराईका जिल्लाहरूमा मूल्यसूची 

पहिलो वर्गमा रहेका तराई तथा भित्री मधेशका सहरहरू चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पनि मूल्य बढेको छ। यी स्थानमा यसअघि १८४ रुपैयाँ रहेको पेट्रोलको मूल्य अब १९९ रुपैयाँ ५० पैसा पुगेको छ। त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य १६४ रुपैयाँ ५० पैसाबाट बढेर १७९ रुपैयाँ ५० पैसा कायम भएको छ।

यस्तै, दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोलको नयाँ मूल्य २०१ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य १८१ रुपैयाँ तोकिएको छ।

मूल्य बढाउँदा पनि ११ अर्ब घाटाको दाबी 

उपभोक्ताको ढाड सेक्ने गरी इन्धनको मूल्यमा अचाक्ली वृद्धि गरिए पनि आयल निगमले अझै आफू घाटामा रहेको दाबी गरेको छ। निगमका अनुसार, प्रतिलिटर १५ रुपैयाँले मूल्य समायोजन गरेपछि पनि आगामी १५ दिनमा संस्थालाई ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

ट्यागहरू:

Nmkhabar

सम्वाददाता

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार