NM Khabar 7 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

शान्तिनगरका सुकुम्बासी: व्यवस्थापन नभए त्रिपाल टाँगेर बस्ने चेतावनी

कोहलपुर नगरपालिका–११ शान्तिनगरका सुकुम्बासी परिवारले राज्य र स्थानीय सरकारसँग तत्काल उचित व्यवस्थापनको माग गरेका छन्। माग पूरा नभए पुरानै ठाउँमा फर्केर त्रिपाल टाँगेर बस्ने चेतावनी दिएका छन्। १२० जनाभन्दा बढीको भेलाले वीरबहादुर परियारको संयोजकत्वमा आठ सदस्यीय संघर्ष समिति गठन गरेको छ।
Kamala Devi
Kamala Devi
7 June 2026, 4:03 pm १ मिनेट पढाइ
आकार:
सुकुम्बासी व्यवस्थापन
Share:

कोहलपुर नगरपालिका–११ शान्तिनगरका सुकुम्बासी परिवारले राज्य र स्थानीय सरकारले तत्काल उचित व्यवस्थापन नगरे पुरानै स्थानमा त्रिपाल टाँगेर बस्ने चेतावनी दिएका छन्। नगर विकास समितिको स्वामित्वको जग्गा खाली गराउने क्रममा केही समयअघि हटाइएको बस्तीका प्रभावित परिवार दीर्घकालीन व्यवस्थापनको माग गरिरहेका छन्।

शनिबार कोहलपुर क्रिकेट मैदानमा भेला भएका १२० भन्दा बढी सुकुम्बासीले वीरबहादुर परियारको संयोजकत्वमा आठ सदस्यीय संघर्ष समिति गठन गरेका छन्। समितिले मागहरू सम्बन्धित निकायसमक्ष पुर्‍याउने निर्णय गरेको छ।

संघर्ष समितिका संयोजक परियारका अनुसार बस्ती हटाइएपछि केहीलाई होल्डिङ सेन्टरमा राखिए पनि धेरै परिवार व्यवस्थापनविहीन छन्। घरजग्गा भएकाहरू अन्यत्र सरेको तर भूमिहीन सुकुम्बासी कठिन अवस्थामा छन्।

‘हामीसँग घरजग्गा छैन। सबैलाई होल्डिङ सेन्टरमा पनि राखिएको छैन,’ परियारले भने, ‘धेरै महँगो भाडा तिरेर बस्नुपरेको छ। आम्दानी कमजोर भएकाले दैनिक गुजारा चलाउनै समस्या छ।’

प्रभावित परिवारले कोठा खोज्दा घरधनीले कोठा दिन मानेका छैनन्। पाए पनि अत्यधिक भाडा तिर्नुपर्छ। प्रभावित रुपा परियारको जीवन कष्टकर बनेको छ। ‘पहिला आफ्नै झुपडी थियो। अहिले कोठा खोज्दै हिँड्नुपर्छ,’ उनले भनिन्, ‘जस्तापाताको छाप्रोमा बस्न पनि महँगो भाडा छ। कमाइ कम, खर्च धान्नै सकस छ।’

कमला परियारले राज्यले बसोबासको व्यवस्था नगरे पुरानै ठाउँमा फर्किनुको विकल्प नभएको बताइन्। ‘कि बस्ने व्यवस्था गरियोस्, नत्र घर भत्काइएकै ठाउँमा त्रिपाल टाँगेर बस्छौं,’ उनले भनिन्, ‘हामीसँग अर्को विकल्प छैन।’

संघर्ष समितिले कोहलपुर नगरपालिका र बाँकेका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्नेछ। ठोस पहल नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ। संयोजक परियारका अनुसार न्याय र पुनःस्थापनाको माग गर्दै धर्ना, प्रदर्शन गर्ने तयारी छ।

बस्ती हटाइएको लामो समय बितिसक्दा पनि स्थायी पुनःस्थापना प्रक्रिया नबढ्दा उनीहरू असुरक्षित र अन्योलमा छन्। परिवारहरूले बसोबासको सुनिश्चितता, पुनःस्थापना र जीवनयापनका आधारभूत अधिकारको माग गरेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार