संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने मुख्य कार्यसूची छ।
बैठकमा सांसदहरूले बजेटमा उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने कार्यक्रम छ। लामो समयदेखि बजेटमा विषय प्रवेश हुन नसकेको अवस्थामा आजको बैठकबाट छलफल अघि बढ्ने अपेक्षा गरिएको छ।
भारतीय सीमा मिचिएको विषयमा प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्तिका कारण प्रतिपक्षी दलका सांसदहरूले लगातार संसद् बैठक अवरुद्ध गर्दै आएका छन्। यसले आजको बैठक सहज ढंगले चल्ने वा नचल्ने भन्ने अनिश्चितता कायमै छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा जारी गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक आह्वान गरेका छन्। यो बैठक आजको संसद् बैठक सुरु हुनुभन्दा दुई घण्टाअघि बस्नेछ।
राष्ट्रिय सभा अन्तर्गतका दुई समितिहरूको बैठक पनि आज ११ बजे नै बस्दैछन्। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा नागढुङ्गा-सिस्नेखोला सुरुङ्गमार्गको प्रगतिबारे छलफल हुनेछ। सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा कर्णाली प्रदेशको स्थलगत अनुगमन प्रतिवेदनमाथि छलफल हुनेछ।
