अनुपम फुडल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताएका छन्। विभिन्न थरीका परिकार प्लेटमा राख्दा धेरैजसो खान भ्याइँदैन र फालिन्छ।
“होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसले गर्ने भोज/भतेरका कार्यक्रममा अधिक खाना फालिन्छ। घरमा पनि बढी खाना पकाउँदा फालिने गरेको पाइन्छ। ग्रामीण क्षेत्रमा फालिएका खाना पशु चौपायाले खाने भए पनि सहरी क्षेत्रमा त्यसरी फालिएका खाना फोहरका रूपमा परिणत हुन्छ,” चापागाईंले भने, “खाना फाल्न रोक्न धेरै प्रयास गरियो, तर सफल भइएन।”
यसरी खाना फालिँदा खुवाउनेका लागि भोजभतेर महँगो हुने गरेको छ। मुलुक बाहिरबाट खाद्यान्न आयात गर्नुपर्ने अवस्थामा यसले समग्र अर्थतन्त्रमा प्रभाव पार्ने चापागाईंको भनाइ छ। बिहानको खानामा कम फालिने भए पनि दिउँसो र साँझ गरिने भोजमा अधिक खाना फालिने गरेको उनले अनुभव सुनाए। होटलमा मदिरासहितको भोजमा झन् बढी खाना फालिने गरेको पाइएको छ।
देशभर ३० वटा होटल, रेस्टुरेन्ट र क्याफे सञ्चालन गरिरहेका सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपानेले ४० प्रतिशतसम्म खाना फालिने गरेको बताए।
“सुरुसुरुमा हामीले खाना प्याकिङ गरेर घर पनि पठायौँ तर सकेनौँ,” न्यौपानेले भने। आफूहरूले व्यानरसमेत राखेर खाना फाल्नबाट बचाउने प्रयास गरे पनि सफल नभएको बताउँदै उनले खाना नफाल्न आग्रह गर्दा उल्टै गाली गर्ने गरेको अनुभव सुनाए।
न्यौपानेले कैलालीको आफ्नो होटलमा एक जना जापानी नागरिकले कार्यक्रममा फालिएको खाना देखेर ‘दैनिक चार पटक खाने खानाको अड्कल गर्न नसक्नेले के काम गर्न सक्छन्’ भनी प्रश्न गरेको स्मरण गरे।
केहीले आफूले खानसक्ने मात्र छानेर खाने गरे पनि धेरैले भोजमा राखिएका सबै चिज खान खोज्दा धेरै खाना फालिने गरेको न्यौपानेले बताए। “खाना फाल्नबाट रोक्न सकियो भने भोजभतेरको खर्च कम हुन्छ। फालिने खानाको समेत हिसाब गर्नुपरेकाले आयोजकको खर्च बढ्ने गरेको छ,” उनले भने।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्राडा सूर्यकान्त घिमिरेले विश्वमा फालिएको खाना बचाउने हो भने ३० प्रतिशत जनसंख्यालाई खान पुग्ने बताए। जापानमा विद्यावारिधि गर्दा छ वर्ष बसेको अनुभव सुनाउँदै उनले जापानीहरूले खाना बाँकी रहेमा पोको पारेर घर लैजाने गरेकाले उनीहरूमा खाद्य सुरक्षाको चिन्ता कम हुने गरेको बताए।
“नेपालमा खाना फाल्ने चलन धेरै छ। यसलाई रोक्न सबैको पहल र ऐक्यबद्धता जरुरी छ। खानालाई कसरी स्वस्थकर बनाउन सकिन्छ भन्नेबारेमा सोच्नुपर्ने देखिन्छ,” प्राडा घिमिरेले भने।
उनले भारतका महात्मा गान्धीले कसैलाई असहज महसुस हुनासाथ एक छाक खाना छोड्न गरेको अपिल स्मरण गर्दै सधैँ भातको सट्टा खानामा विविधीकरण गर्नुपर्ने बताउने गरेको उल्लेख गरे। टर्कीका बासिन्दाले पहिले दालभात, तरकारी खाने गरेकामा अहिले एक छाक अन्य परिकार खाने गरेको उदाहरण दिँदै नेपालीले पनि यस विषयमा ध्यान दिनुपर्नेमा उनले जोड दिए। खाद्य बचत र स्वास्थ्यका लागि यो उत्तम विकल्प हुनसक्ने उनको भनाइ छ।
नियमित बिहान बेलुका दालभात तरकारी खाने प्रचलनका कारण कम उत्पादन भए पनि धान रोप्ने नेपाली परम्परालाई परिवर्तन गरेर जे धेरै उत्पादन हुन्छ त्यसमा ध्यान दिन प्राडा घिमिरेले आग्रह गरे। नेपालले वार्षिक रु ४५ देखि ५० अर्बको खाद्यान्न आयात गर्ने गरेको तथ्यांक प्रस्तुत गर्दै उनले खाना नफाल्ने, खानामा विविधीकरण ल्याउने र बाँझो जमिनमा खेती गर्नसके आयात घट्ने बताए।
