NM Khabar 3 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चीनको केरुङमा अलपत्र परेका ११४ नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सडक सञ्जाल विच्छेद गरेपछि चीनको केरुङमा अलपत्र परेका ११४ नेपाली नागरिक बिहीबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनियाँ पक्षको विशेष सहजीकरणमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो। हालसम्म ८०० जना नेपाली स्वदेश फर्किनका लागि नाम दर्ता गराएका छन् भने २३९ जनाको अवस्था अज्ञात छ।
Bikram Magar
Bikram Magar
3 September 2026, 7:36 pm १ मिनेट पढाइ
आकार:
११४ नेपाली स्वदेश फर्किए
Share:

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले सडक सञ्जाल विच्छेद गरेपछि चीनको केरुङ क्षेत्रमा अलपत्र परेका ११४ नेपाली नागरिक बिहीबार स्वदेश फर्किएका छन्। चिनियाँ पक्षको विशेष सहजीकरणमा उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको हो।

तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चिनियाँ पक्षले राहदानी नम्बर र व्यक्तिगत विवरणसहित ती नेपाली नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको थियो। ‘चिनियाँ प्रतिनिधिले हामीलाई विभिन्न जिल्लाका ११४ नागरिक सुरक्षित रूपमा हस्तान्तरण गर्नुभएको छ,’ उनले भने।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बाढीले रसुवागढी नाका बन्द गरेपछि चीनतर्फ फसेका नागरिकलाई तातोपानी नाकाबाट फर्काइएको जानकारी दिए। हाल तातोपानी भन्सार बन्द रहे पनि पर्यटक र नागरिकको आउजाउका लागि नाका खुला छ।

स्वदेश फर्किनेहरूमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका बासिन्दा छन्। ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका अनुसार उनीहरू रसुवागढी नाकाबाट अस्थायी पास लिएर केरुङसम्म सामान लिन, लोड-अनलोड गर्न तथा होटल र रेस्टुरेन्टमा काम गर्न गएका थिए।

रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीले पूर्ण रूपमा बगाएपछि भिसा र राहदानी नभएका ती नागरिक तिब्बतमै अलपत्र परेका थिए।

महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चीन सरकारको समन्वयमा उनीहरूलाई तातोपानी नाकासम्म पुर्‍याउन सहजीकरण गरिएको बताए। अस्थायी अनुमति लिएर गएका नेपालीहरू तिब्बततर्फ ३० किलोमिटरसम्म मात्रै जान पाउने व्यवस्था छ।

चीनको केरुङ क्षेत्रमा करिब एक हजार ६०० नेपाली रहेको अनुमान छ। ८०० जनाले स्वदेश फर्किन नाम दर्ता गराएका छन्। ‘धेरैजसो सामान लिन, किनमेल गर्न र मजदुरी गर्न गएका नेपाली हुनुहुन्छ, उहाँहरूलाई पालैपालो नेपाल फर्काउने प्रक्रिया अघि बढेको छ,’ महावाणिज्यदूत निरौलाले भने।

भोटेकोशी बाढीपछि चीनतर्फ गएका धेरै नेपाली प्रभावित भएका छन्। बाढी आएको दिनदेखि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका मात्रै २३९ जनाको अवस्था अज्ञात छ। उनीहरूको खोजी कार्य जारी छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार