यातायात व्यवस्था विभागले देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनको नयाँ दर्तामा तत्कालका लागि रोक लगाएको छ। बढ्दो ट्राफिक जाम, वायु प्रदूषण र सडकको चापलाई कारण देखाउँदै विभागले अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय गरेको हो।
विभागका निर्देशक मणि राम भुसालले जेठ ७ गते जारी गरेको परिपत्र सातवटै प्रदेशका भौतिक पूर्वाधार, श्रम तथा यातायात व्यवस्था मन्त्रालयहरू र देशैभरिका सबै स्थानीय तहमा पठाइएको छ। यसमा इन्धनबाट चल्ने सवारीसाधनका साथै विद्युतीय सार्वजनिक सवारी साधनको समेत नयाँ दर्ता रोक्न स्पष्ट निर्देशन दिइएको छ।
सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्नु, अत्यधिक वायु प्रदूषण बढ्नु, सवारीको चाप र ट्राफिक जामका कारण आवागमनमा गम्भीर कठिनाइ उत्पन्न हुनु तथा इन्धनको बढ्दो मूल्यलाई विभागले नयाँ दर्ता रोक्नुपर्ने मुख्य कारण मानेको छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा २४ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी विभागले यो निर्णय गरेको हो। सोही ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा आवागमनमा पर्ने कठिनाइका कारण सार्वजनिक हितमा विभागले कुनै वा सबै कार्यालयलाई सवारी दर्ता रोक्न आदेश दिन सक्ने व्यवस्था छ।
यस निर्णयले सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन गर्ने सरकारी नीतिलाई सहयोग पुग्ने विभागको अपेक्षा छ।
