NM Khabar 26 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपालमै पहिलो पटक: माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजको भाषा

नेपालमै पहिलो पटक, इलामको माङ्सेबुङ गाउँपालिकाले जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्दैछ। संविधानको अधिकार प्रयोग गर्दै बहुसंख्यक लिम्बू जातिको सम्मानमा यो निर्णय गरिएको हो। यसका लागि पाँचौँ तहका भाषिक सहजकर्ता नियुक्त भइसकेका छन्।
Laxmi Bhattarai
Laxmi Bhattarai
22 May 2026, 9:36 am १ मिनेट पढाइ
आकार:
Share:

नेपालमै पहिलो पटक, इलामको माङ्सेबुङ गाउँपालिकाले आगामी जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्दैछ।

गाउँपालिकाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी लिम्बू भाषा कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। गाउँपालिका अध्यक्ष हेमन्त राईले वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकको निर्णयअनुसार यो कदम चालिएको बताउनुभयो।

एक विशेष समारोहबीच उक्त दिन लिम्बू भाषालाई कामकाजी भाषा घोषणा गरिने अध्यक्ष राईले जानकारी दिनुभयो। माङ्सेबुङमा बहुसङ्ख्यक नागरिकले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने) लाई सरकारी कामकाजमा ल्याइँदैछ।

गाउँपालिकाले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम अधिकार प्रयोग गरेको छ। यसले भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने उद्देश्य राखेको छ।

अध्यक्ष राईले भने, “यहाँको बहुसङ्ख्यक लिम्बू जातिले बोल्ने भाषालाई हामीले जेठ १२ गतेदेखि माङ्सेबुङमा सरकारी कामकाजको भाषाका रुपमा प्रयोगमा ल्याउने तयारी गरेका छौँ।” उहाँले थपे, “नेपालको संविधानले आत्मसात गरेको बहुभाषिक, बहुजातीय, बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रको भावना, जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको मर्मअनुसार जातीय बाहुल्यताका आधारमा यो निर्णय गरेका हौँ।”

लिम्बू भाषा सरकारी कामकाजका रुपमा कार्यान्वयन गर्नका लागि पाँचौँ तहको भाषिक सहजकर्ता करारमा नियुक्त भइसकेका छन्। माङ्सेबुङ गाउँपालिकाको ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका, २०७५’ र ‘माङ्सेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४’ बमोजिम सहजकर्ता नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताउनुभयो।

भाषिक सहजकर्ताको दरबन्दी गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम) मा नै समावेश गरी स्वीकृत गरेर नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिनुभयो। यी सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछन्।

लिम्बू जातिको बाहुल्यता रहेको माङ्सेबुङमा बाहुल्य समुदायको सम्मानका लागि नेपालमै पहिलो पटक ‘लिम्बू भाषा’ लाई कामकाजी बनाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत राईले उल्लेख गर्नुभयो।

वि.सं. २०७८ को जनगणनाअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङ्सेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव ६ प्रतिशत राई जातिको बसोबास छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार