सडक डिभिजन कार्यालय सप्तरीले सम्झौता अनुसार काम सम्पन्न नगरेका ५ वटा रुग्ण ठेक्काहरु तोडेको छ। आर्थिक वर्ष २०७२/७३ देखि २०७८/७९ सम्म सम्झौता भएका यी आयोजनाहरुमा निर्माण व्यवसायीले काम अलपत्र पारेपछि कार्यालयले ठेक्का रद्द गर्ने निर्णय गरेको हो।
कार्यालयले ठेकेदार कम्पनीहरुलाई काममा प्रगति नहुनुको कारणसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको थियो। प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सार्वजनिक खरिद ऐनको व्यवस्था बमोजिम ठेक्काहरु रद्द गरिएको सडक डिभिजन कार्यालय लहानले जनाएको छ।
तोडिएका ठेक्कामा सप्तरीको साह इन्जिनियर कन्स्ट्रक्सनले जिम्मा लिएको राजविराज हुमाननगर–भारदह सडक, रूपनी–राजबिराज सडक र राजबिराज छिन्नमस्ता सडक आयोजनाहरु समावेश छन्।
यस्तै, सप्तरीकै बलुवाही खोला ललापट्टी पुल निर्माणको ठेक्का पाएको यकथुवाहाङ्ग बिपी जेभी लहान र उदयपुर जिल्लाको कोजोमा खोला पुल निर्माणको ठेक्का लिएको वाईपी विकास ब्रदर बजरंगी जेभी जनकपुरधामको ठेक्का पनि तोडिएको छ।
कार्यालयले ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राख्ने, धरौटी रकम र पेश्की जमानत जफत गर्ने, पेश्की रकमको १० प्रतिशत ब्याज असुल गर्ने र बाँकी काम सम्पन्न गर्न लाग्ने थप खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही प्रक्रिया अगाडि बढाउने जनाएको छ। यस सम्बन्धमा आवश्यक कारबाहीका लागि निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
