उपल्लो मुस्ताङको लोमान्थाङमा नेपाल र चीनका सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरूबीच शुक्रबार सीमा सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा कोरला नाकाको सुरक्षा, आवागमन सहज बनाउने उपाय र सीमा क्षेत्रमा हुने सम्भावित अपराध तथा तस्करी नियन्त्रणका विषयमा छलफल भएको छ।
चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ सदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो। नेपालतर्फबाट मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्मा, प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामा, सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरी लगायत सहभागी थिए। लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्ट र लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट पनि बैठकमा सहभागी थिए।
प्रमुख जिल्ला अधिकारी शर्माले बैठकमा द्विपक्षीय आपसी हितका विषयमा छलफल भएको जानकारी दिइन्। कोरलानाका क्षेत्रको सीमा सुरक्षा, आवागमनलाई कसरी सहज बनाउने तथा सीमा क्षेत्रमा हुनसक्ने अपराध, चोरी तस्करी र अवान्छित गतिविधि नियन्त्रणमा भूमिका खेल्ने विषयमा मौखिक छलफल भएको उनले बताइन्। आगामी दिनमा दुई देशबीचको स्थानीय प्रशासनबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो।
लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले बैठकले सीमावर्ती दुई देशबीचको स्थानीय प्रशासनबीचको सुमधुर सम्बन्धलाई सुधार गर्दै थप परिस्कृत बनाउने मौखिक सहमति भएको उल्लेख गरे। सीमा क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई दुवै देशका सुरक्षा अधिकारी र जनप्रतिनिधि मिलेर आपसी समन्वय र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाइएको छ।
नेपाल र चीनका सुरक्षा अधिकारी र स्थानीय जनप्रतिनिधिबीच बर्सेनि आलोपालो हुने यो समन्वय बैठक यसअघि गत भदौमा चीनको झोङ्बा काउन्टीमा सम्पन्न भएको थियो। यसपटकको बैठकका लागि चिनियाँ टोली कोरलानाका हुँदै लोमान्थाङ आइपुगेको थियो भने नेपाली टोली बिहीबार नै त्यहाँ पुगेको थियो।
