लहान नगरपालिका-१३ घलेटोलका २० अतिविपन्न मुसहर परिवारले वर्षौँको कष्टकर जीवनपछि सुरक्षित पक्की घर पाएका छन्। लहान नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र भवानी एकीकृत विकास केन्द्रको त्रिपक्षीय साझेदारीमा ती घर आज हस्तान्तरण गरियो।
आर्थिक वर्ष २०८१/८२ को ‘विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण कार्यक्रम’ अन्तर्गत लहान नगरपालिकाले ६९ लाख ४ हजार र ह्याविट्याट फर ह्युमानिटी नेपालले १६ लाख ६६ हजार रुपैयाँ लगानी गरे। भवानी एकीकृत विकास केन्द्रले प्राविधिक सहयोग पुर्यायो भने लाभग्राही परिवारले श्रमदान गरे।
प्रत्येक घरमा दुई कोठा, भान्सा, बरण्डा र शौचालयको व्यवस्था छ। भवानी एकीकृत विकास केन्द्रका प्राविधिक एवं कार्यक्रम संयोजक सुजित चौधरीका अनुसार यी घर भूकम्पप्रतिरोधी छन्। यिनको न्यूनतम आयु ३० वर्षभन्दा बढी छ।
नयाँ घरको चाबी हस्तान्तरण गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले नगरभित्र कोही पनि विपन्न नागरिक घरविहीन हुन नपरोस् भन्ने बताए। उनले भने, “हरेक विपन्न र भूमिहीन नागरिकको एउटा सुरक्षित र भरपर्दो घर होस् भन्ने सपना हुन्छ। स्थानीय सरकारको हैसियतले हामीले उहाँहरूको त्यही सपनालाई क्रमशः साकार पार्दै लगेका छौँ। यो अभियान निरन्तर जारी रहनेछ।”
यसअघि वडा नम्बर १५, १२, २१, २२ र १३ मा दुई सयभन्दा बढी सुरक्षित घर निर्माण गरी लक्षित परिवारलाई हस्तान्तरण गरिसकिएको छ। ह्याविट्याट फर ह्युमानिटी नेपालका कार्यक्रम संयोजक नासिन श्रवणका अनुसार संस्थाले सिरहामा सुरक्षित आवासका लागि निरन्तर सहकार्य गरिरहेको छ।
भवानी एकीकृत विकास केन्द्रका कार्यक्रम निर्देशक सुजित चौधरीले नवनिर्मित घर बलियो र सुरक्षित रहेको दाबी गरे। उनले भने, “यी घर प्राविधिक रूपमा पूर्ण भूकम्पप्रतिरोधी छन्। स्थानीय वातावरण अनुकूल निर्माण गरिएका यिनको आयु ३० वर्षभन्दा बढी छ। यसले मुसहर परिवारलाई वर्षा र मौसमको जोखिमबाट सुरक्षित राख्नेछ।”
वर्षौँदेखि फुसको कच्ची झुपडीमा कष्टकर जीवन बिताउँदै आएका घलेटोलका मुसहर परिवार आधुनिक र सुरक्षित पक्की घर पाएपछि हर्षित छन्। स्थानीयले नगरको यो कामलाई सकारात्मक पहलका रूपमा लिएका छन्।
यस अभियानअन्तर्गत चालु आर्थिक वर्षभित्र वडा नं १३ मा थप १०, वडा नं १५ मा सात र वडा नं १८ मा आठ घर निर्माण गरी हस्तान्तरण गर्ने योजना छ।
