उत्तरी चीनको शान्सी प्रान्तस्थित लिउशेन्यु कोइला खानीमा शुक्रबार राति भएको भीषण ग्यास विस्फोटमा ९० जनाको मृत्यु भएको छ, ९ जना अझै बेपत्ता छन्।
शान्सि तोङझोउ समूहद्वारा सञ्चालित उक्त खानीमा शुक्रबार साँझ ७:२९ बजे भूमिगत ग्यास विस्फोट भयो। दुर्घटनाका बेला २४७ जना कामदार जमिनमुनि कार्यरत थिए। फसेकाहरूको खोजीका लागि तीव्र रूपमा उद्धार कार्य जारी छ।
घटनालगत्तै प्रान्तीय, सहर तथा काउन्टी तहका पार्टी समिति र सरकारहरूले आपतकालीन प्रतिक्रिया संयन्त्र सक्रिय पारे। पिपुल्स डेलीका अनुसार, ८७० भन्दा बढी स्वास्थ्यकर्मी, उद्धार कर्मचारी र प्रहरी अधिकारीहरू घटनास्थलमा परिचालन गरिएका छन्। उपप्रधानमन्त्री झाङ गुओकिङको नेतृत्वमा रहेको टोलीले घटनास्थलको निरीक्षण गरिरहेको छ।
सिन्ह्वा समाचार एजेन्सीका अनुसार, घटनामा संलग्न कम्पनीका प्रबन्धकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेहरूको उचित उपचार र उद्धार कार्यलाई व्यवस्थित बनाउन निर्देशन दिएका छन्।
राष्ट्रपति सीले दुर्घटनाको गम्भीर अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्न आग्रह गरे। उनले देशभरका अधिकारीहरूलाई कार्यस्थल सुरक्षामा सतर्क रहन र सम्भावित जोखिमहरू समयमै पहिचान गरी हटाउन चेतावनी दिए। प्रधानमन्त्री ली चियाङले पनि देशभर कार्यस्थल सुरक्षा सुपरिवेक्षणलाई सुदृढ बनाउन निर्देशन दिएका छन्। चीनमा बाढीको मौसम सुरु भएकाले राष्ट्रपति सीले विपद् व्यवस्थापन र आपतकालीन तयारीलाई सुदृढ बनाउन समेत आह्वान गरेका छन्।
