नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई अपाङ्गमैत्री बैंकिङ सेवामा जोड दिनुका साथै कर्मचारीहरूको हकहित सम्बन्धी व्यवस्थामा पनि स्पष्ट निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षर नभएका व्यक्तिहरूलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन निर्देशन दिएको छ।
यस निर्देशन अनुसार, बैंक तथा वित्तीय संस्थाहरूले यी विशेष वर्गका ग्राहकहरूलाई सहज बैंकिङ सुविधा उपलब्ध गराउनका लागि विशेष काउन्टर तोक्नुपर्नेछ। यसका साथै, प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री हुनुपर्ने व्यवस्था गरिएको छ। यस प्रकारको शाखाको विवरण बैंकहरूले आफ्नो वेबसाइटमा प्रकाशित गर्नुपर्नेछ।
त्यस्तै, एटीएम लाउन्ज भएका स्थानहरूमा ब्रेल साइन कन्ट्रोल बटन र अडियो सपोर्टसहितको कम्तीमा एक अपाङ्गमैत्री एटीएम राख्न पनि निर्देशन दिइएको छ। यसको विवरण पनि बैंकहरूको वेबसाइटमा उपलब्ध गराउनुपर्नेछ।
अपाङ्गता भएका व्यक्तिहरूले एटीएम, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ जस्ता सेवाहरू आफैं प्रयोग गर्न नसक्ने स्वघोषणा गरेमा, इजाजतपत्र प्राप्त संस्थाहरूले त्यस्तो सेवा उपलब्ध गराउनुपर्नेछ। साथै, बैंकहरूको वेबसाइट र मोबाइल बैंकिङ एपहरू दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूले समेत प्रयोग गर्न सकिने गरी विकास गर्नुपर्नेछ। डेविट/क्रेडिट कार्डमा पनि दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचर राख्नुपर्नेछ।
कर्मचारी व्यवस्थापनको सन्दर्भमा, बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना कर्मचारीहरूलाई प्रचलित कानुन र राष्ट्र बैंकको निर्देशन बमोजिम मात्र काममा लगाउनुपर्नेछ। कार्यालय समयबाहेक अतिरिक्त समयमा काम गराउँदा प्रचलित व्यवस्था अनुसार अतिरिक्त पारिश्रमिक दिनुपर्नेछ र कर्मचारीहरूलाई अतिरिक्त समय काम गर्न बाध्य पार्न पाइने छैन।
