सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी असोजदेखि सञ्चालनमा ल्याउने लक्ष्यसहित काम तीव्र पारिएको छ। आयोजनाले सुरुङमार्गभित्रका संरचना, पहुँच सडक र सुरक्षा व्यवस्थापनका कामलाई एकसाथ अघि बढाएको छ।
आयोजनाका अनुसार सुरुङमार्गको भौतिक प्रगति ६८ प्रतिशत र वित्तीय प्रगति ५८ प्रतिशत पुगेको छ। पाँच वर्षे निर्माण अवधि तोकिएको यो आयोजना ‘इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन’ (इपिसी) मोडलमा बनिरहेको छ। यस मोडलमा डिजाइन, स्वीकृति र निर्माणको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीकै हुन्छ।
आयोजना प्रमुख राजेश पौडेलले असोजसम्म यातायात सञ्चालन गर्ने लक्ष्यअनुसार कामलाई तीव्रता दिएको बताए। निर्माणपछि पाँच वर्षसम्म निर्माण कम्पनीले नै सञ्चालन, मर्मत र सुरक्षाको जिम्मेवारी लिनेछ। त्यसपछिको थप पाँच वर्ष ‘ल्याटेन्ट डिफेक्ट लायबिलिटी पिरियड’ (डिएलपी) रहनेछ।
प्रारम्भिक चरणमा कानुनी र प्राविधिक जटिलताले निर्माण प्रभावित भएको थियो। नेपालमा इपिसी मोडल नयाँ भएकाले कागजात व्यवस्थापन, रुख कटान अनुमति र बजेटमा समस्या आएको थियो। पौडेलका अनुसार ती समस्या समाधानोन्मुख छन्। म्याद थप र माइलस्टोन समायोजन प्रक्रिया अन्तिम चरणमा छ।
सुरुङमार्गसँगै बन्दै गरेको पहुँच सडकमा ‘रिजिड पेभमेन्ट’ गर्ने स्वीकृति मिलेको छ। सुरुङ सञ्चालनपछि बाहिरी जोखिमयुक्त क्षेत्रमा ‘रकसेड’ र भिर संरक्षणको काम गरिनेछ। पैदलयात्रुका लागि सुरक्षित बाटो र बाहिरी क्षेत्रमा खानेपानीको व्यवस्था गरिनेछ।
आयोजनाको प्रारम्भिक लागत अनुमान १० अर्ब थियो। प्रतिस्पर्धात्मक ठेक्का प्रक्रियाबाट करिब ७ अर्बमा सम्झौता भएको हो। पहिरो र भूक्षयको जोखिम रहेको यो सडकखण्डमा सुरक्षित यात्रा सुनिश्चित गर्नु सुरुङमार्गको मुख्य उद्देश्य हो।
