कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले यस वर्ष रोपाईंका लागि रासायनिक मलको अभाव नहुने दाबी गरेकी छन्। संसद् बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले अहिलेसम्मकै बढी परिमाणमा किसानहरूलाई मल उपलब्ध गराइने बताइन्।
उनले चालु आर्थिक वर्षमा ५ लाख ५४ हजार ७६२ मेट्रिक टन रासायनिक मल आपूर्ति भएको र त्यसमध्ये ४ लाख ६३ हजार १०७ मेट्रिक टन किसानलाई बिक्री गरिसकिएको जानकारी दिइन्। हाल गोदाममा र आयात भइरहेको मल गरी १ लाख ४४ हजार ५८५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको उनले बताइन्।
मन्त्री चौधरीका अनुसार चालु आर्थिक वर्षको असारसम्म लागत साझेदारीका आधारमा कुल ५ लाख मेट्रिक टन मल किसानलाई अनुदानमा उपलब्ध गराइनेछ। मध्यपूर्वको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथा मूल्यमा उच्च वृद्धि भएको सन्दर्भमा उनले चालु र आगामी आर्थिक वर्षको बजेटबाट खर्च हुने गरी मल आपूर्तिका लागि सम्झौता भइसकेको जानकारी दिइन्। उनले सम्झौता भएका कम्पनीहरूसँग पर्याप्त मल आपूर्तिका लागि ताकेता गरिरहेको बताइन्।
त्यस्तै, मन्त्री चौधरीले आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बिक्री गर्ने लक्ष्य रहेको बताइन्। नेपाल काठमा पूर्ण आत्मनिर्भर हुने र नेपाली बजारको माग पूरा गरेर मात्रै काठ निर्यात गरिने उनको भनाइ छ।
