मलेसियाको क्वालालम्पुरमा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपालले अन्तिम चारमा स्थान सुरक्षित गर्यो।
इन्डोनेशियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। नेपालकी कप्तान इन्दु बर्माले अविजित ४२ रनको योगदान दिइन्। सोनी पाख्रिनले २९ रन जोड्दा सीता राना मगरले अविजित १३ रन बनाइन्।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेशियाले २० ओभरमा ४ विकेट गुमाएर ११३ रन बनाएको थियो। इन्डोनेशियाकी कप्तान नी पुतु आयु नन्द सकरिनीले ५६ रनको अर्धशतकीय पारी खेलिन्। नेपालका लागि मनिषा उपाध्यायले २ विकेट लिइन् भने रिया शर्माले १ विकेट पाइन्।
समूह चरणको पहिलो खेलमा चीनलाई १९ रनले हराएको नेपालले यो जितसँगै समूह विजेताको स्थान पक्का गर्यो। यस समूहबाट चीन उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ।
सेमिफाइनलमा नेपालले आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल जितेमा नेपाल २०औं एसियाली खेलकुदमा छनोट हुनेछ। अर्को सेमिफाइनलमा समूह ‘ए’ को विजेता थाइल्यान्डले उपविजेता चीनको सामना गर्नेछ।
प्रतियोगिताका शीर्ष तीन टोली जापानमा आयोजना हुने एसियाली खेलकुदका लागि छनोट हुनेछन्।
