सात प्रदेशका ५० विद्यालयमा गरिएको अध्ययनले १० वर्षमुनिका बालबालिका समेत चुरोटको कुलतमा फसेको देखाएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्की अनुसन्धानकर्ता कुसुम शाहीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार कक्षा ७ देखि १० मा पढ्ने तीन हजार बालबालिकामाझ यो तथ्य फेला परेको हो।
सर्वेक्षणमा ५७ प्रतिशतले बिहान उठ्नेबित्तिकै चुरोट खाने गरेको बताए। ७४ प्रतिशत सेवनकर्ताले चुरोट छाड्न प्रयास गर्दागर्दै असफल भएको स्वीकारे। यो लतको गहिराइ स्पष्ट पार्छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले सुर्ती उद्योगले हुक्का, भेपजस्ता स्वादिला उत्पादन प्रयोग गरी किशोरकिशोरीलाई आकर्षित गर्ने गरेको आरोप लगाए। उनले चुरोट, भेप र हुक्काको बढ्दो आकर्षण रोक्न अभियान आवश्यक रहेको बताए।
डा श्रेष्ठले सुर्तीजन्य पदार्थको कानुन कार्यान्वयनमा जोड दिए। यसको नियन्त्रणले मुटु, फोक्सो, मिर्गौला र क्यान्सरजस्ता रोगको उपचार खर्च जोगाउन सकिने उनको भनाइ छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले सुर्तीजन्य पदार्थलाई ‘सामाजिक विष’ माने। यसलाई समाजबाट हटाउन सबैको सहकार्य अपरिहार्य रहेको उनले बताए। सरकार रोकथाममा लागिपरेको र जनसहभागिता आवश्यक रहेको उनको धारणा थियो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले घरपरिवारबाटै सुर्ती सेवनकर्तालाई सुधार्न पहल गर्नुपर्नेमा जोड दिए। ‘घरमा कसैले सेवन गर्छ भने पहिलो तिनीहरूलाई छोडाऔँ। विस्तारै समाजका अन्यलाई पनि सचेत गराऔँ’, उनले भने।
स्वास्थ्य अभियन्ता शान्तराज मुल्मी, डा जयकुमार गुरुङ र ज्योति बानियाँले युवा पुस्तालाई कुलतबाट बचाउन विशेष अभियानको आवश्यकता औंल्याए। ‘सुर्तीजन्य पदार्थ र निकोटिनका नयाँ रूपको भ्रम चिरौँ, कुलतबाट टाढा बसौँ, स्वस्थ जीवन रोजौँ’ भन्ने नारासहित दिवस मनाइएको थियो।
नेपालमा हरेक वर्ष ३९ हजारभन्दा बढीको मृत्यु सुर्तीजन्य पदार्थ सेवनकै कारण हुन्छ। यसले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी दीर्घ रोग र मधुमेहजस्ता नसर्ने रोग निम्त्याउँछ।
