NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राप्रपा फेरि विभाजनको डिलमा, धवलशमशेरको नयाँ अभियानको घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पुनः विभाजनको संघारमा पुगेको छ। नेता धवलशमशेर राणाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राष्ट्रवादी शक्ति निर्माणको अभियान घोषणा गरेका छन्। राप्रपाको इतिहासमा यो पटकपटकको एकता र विभाजनको शृंखलाको निरन्तरता हो।
NM Khabar
NM Khabar
31 May 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विभाजनको डिलमा पुगेको छ। नेता धवलशमशेर राणाले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नयाँ राष्ट्रवादी शक्ति निर्माणको अभियान घोषणा गरेका छन्।

गत पुस १६ गते पार्टीमा फर्किएका पूर्वअध्यक्ष कमल थापाको प्रवेशपछि पार्टीभित्रको आन्तरिक विवाद चुलिएको थियो। प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीको खराब प्रदर्शनपछि यो विवाद सतहमा आएको हो। राणाले आइतबार विज्ञप्ति जारी गर्दै आफू देशमा विश्वसनीय राष्ट्रवादी शक्ति निर्माणमा लाग्ने बताएका छन्।

उनले देशलाई माया गर्ने र समृद्ध चाहने युवा पुस्तालाई आफ्नो नयाँ अभियानमा सहभागी हुन आह्वान गरेका छन्। राणाले राप्रपालाई विगत चार वर्षमा जनभावनाअनुकूल अघि बढाउने प्रयास गर्दागर्दै पनि नेतृत्वको विरोधाभाषपूर्ण र सैद्धान्तिक द्विविधाका कारण पार्टी निर्वाचनमा दण्डित भएको आरोप लगाएका छन्।

“राप्रपामा आबद्ध साथीहरूलाई यही बाटो सही लाग्छ भने त्यतै रहन शुभकामना छ, कुनै वैरभाव छैन। होइन, स्वच्छ मन र आत्मीय सम्बन्ध निर्माण गरेर, हाम्रा मान्यताहरुलाई सही लक्ष्य दिने चाहना हो भने एकजुट भएर अघि बढ्न सबै राष्ट्रवादी मित्रहरुलाई हार्दिक आह्वान गर्छु,” राणाले विज्ञप्तिमा भनेका छन्।

राणासहितका नेताहरू अलग हुने तयारी गरेपछि राप्रपाका शीर्ष नेताहरूले पार्टी एकता जोगाउन प्रयास गरिरहेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देन र उपाध्यक्ष बुद्धिमान तामाङलगायतले एकता बचाउन पहल गरिरहेको एक नेताले दाबी गरे। तर, नेताहरूले निरन्तर धम्क्याउने र घुक्र्याउने गरेका कारण समस्या जटिल बन्दै गएको ती नेताको भनाइ छ।

राप्रपाको इतिहास पटकपटकको एकता र विभाजनको साक्षी छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्द मिलेर पार्टी खोले पनि नेतृत्व विवादले २०४७ जेठ १५ गते दुई चिरामा विभाजित भयो। २०४८ को निर्वाचनमा कमजोर नतिजापछि २०४८ माघमा एकता भयो। २०५१ को निर्वाचनमा २० सिट जितेको राप्रपाले २०५२ मा देउवा सरकारलाई समर्थन गर्‍यो। पछि चन्द प्रधानमन्त्री बने र थापाले कांग्रेससँग मिलेर उनको सरकार ढालेर आफैं प्रधानमन्त्री बने। कमल थापाले थापालाई साथ दिएपछि पार्टी फेरि विभाजित भयो। २०५६ को निर्वाचनमा थापा समूहले ११ सिट जित्यो। २०५७ मा दुवै समूह पुनः एक भए। २०५९ मा राजा ज्ञानेन्द्रले चन्दलाई प्रधानमन्त्री बनाउँदा कमल थापाले साथ दिए।

२०६२ पुसमा कमल थापाले राप्रपा नेपाल गठन गर्दा सूर्यबहादुर थापाले राष्ट्रिय जनशक्ति पार्टी (राजपा) गठन गरे। २०६४ को निर्वाचनमा राप्रपाले ८, राजपाले ३ र राप्रपा नेपालले ४ सिट जिते। निर्वाचनमा पराजयपछि २०७० मा राप्रपा र राजपाबीच एकता भयो। सोही सालको संविधानसभा निर्वाचनमा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपाले १२ सिट जित्दा कमल थापा नेतृत्वको राप्रपा नेपालले २५ सिट जित्यो। २०७० मंसिर ५ गते फेरि एकता भए पनि सरकारमा सहभागिताको विषयलाई लिएर राप्रपा विभाजित भयो। राणाले २०७४ मा राप्रपा प्रजातान्त्रिक गठन गरे। २०७६ फागुनमा तीन घटक (राणा, थापा र लोहनी) बीच एकता भयो। २०७८ मंसिर १९ गते कमल थापाले फेरि राप्रपा नेपाल गठन गरे। गत पुस १६ मा उनी पुरानै राप्रपामा फर्किए। अहिले फेरि धवलशमशेर राणासहितका नेताहरू पार्टीबाट अलग हुने तयारीमा छन्।

NM Khabar

NM Khabar

संवाददाता · NM Khabar

NM Khabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार