तराई मधेशमा आगामी एक हप्ता गर्मी बढ्ने भएको छ। मनसुन भित्रिन ढिलाइ र पश्चिमी वायुको प्रभाव कमजोर हुनु यसको कारण हो। मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार मनसुनी बादल भारतको केरला पुगे पनि कमजोर गतिमा छ। यसपटकको मनसुन सुरुमा कमजोर हुने सम्भावना छ।
पछिल्लो तीन दिनको वर्षाले तापक्रम घटेर शीतल महसुस गराएको थियो। अब तापक्रम उकालो लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार जेठ १९ गते मधेश र कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना छ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय रेखा र स्थानीय वायुको प्रभाव छ। हिमाली र पहाडी भूभागमा सामान्य बादल लाग्नेछ। तराईमा आंशिक बादल रहनेछ। हिमाली, पहाडी भेग र लुम्बिनी, सुदूरपश्चिमका तराईका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना छ।
मधेस र कोशी प्रदेशको तराईमा तातो दिनको पूर्वानुमान छ। राति कोशी, कर्णाली, सुदूरपश्चिमका हिमाली-पहाडी भेग तथा बागमती, गण्डकी, लुम्बिनीका हिमाली भेगमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
