क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्बोप्लाटिन’ र ‘सिस्प्लाटिन’ किमोथेरापी औषधिको बजारमा चरम अभाव छ। भारत र बंगलादेशबाट आयात हुने यी औषधिको वार्षिक २४ हजार भाइल खपत हुन्छ। अहिले स्टकमा एक भाइल पनि नभएको औषधि आयातकर्ताहरू बताउँछन्।
विश्व बजारमा कच्चा पदार्थको मूल्य वृद्धि, नेपालमा औषधिको मूल्य समायोजन नहुनु र डलरको भाउ बढेका कारण अभाव भएको सरोकारवालाको भनाइ छ। औषधि उत्पादक संघका महासचिव सन्तोष बरालका अनुसार ११७ थरी औषधिको मूल्य समायोजन भयो। मूल्य समायोजन नभए सबै औषधिको अभाव हुने उनले बताए।
२०७२ सालयता औषधिको मूल्य समायोजन भएको छैन। औषधि आयातकर्ता संघका अध्यक्ष पवन आचार्यले ११ वर्षदेखि घाटामा औषधि आयात गर्न बाध्य भएको बताए। ‘नेपाल सरकारले २०७२ मा ९६ प्रकृतिका औषधिको मूल्य समायोजन गर्यो। भारत सरकार हरेक वर्ष मार्चमा गर्छ। नेपालमा ११ वर्षदेखि भएको छैन,’ आचार्यले भने। यसले गर्दा नेपालमा औषधि सस्तो र भारतमा महँगो छ।
आचार्यका अनुसार पछिल्लो तीन वर्षयता भारतभन्दा नेपालमा औषधि सस्तो छ। कच्चा पदार्थको मूल्य आकाशिएकाले भारतमा पनि यो औषधिको अभाव छ।
गत जेठ ८ गते औषधि आयातकर्ता र स्वास्थ्य सचिव डा. विकास देवकोटाबीच छलफल भयो। मन्त्रालयको अनुरोधमा बंगलादेशबाट आठ सय भाइल कार्बोप्लाटिन आयात गरियो। यो आयात गर्दा आयातकर्तालाई घाटा भयो। केही समय बिरामीले पुर्जा देखाएर मात्र औषधि पाए।
क्यान्सर उपचारलगायत जीवनरक्षक औषधिको आपूर्तिमा देखिएको असहजताबारे बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा छलफल भयो।
आचार्यले भारतबाट औषधि ल्याउँदा नेपाल र भारतबीचको मूल्य भिन्नता बराबर रकम सरकारले बेहोर्नुपर्ने बताए। उनले स्वचालित मूल्य प्रणाली लागू गर्नुपर्ने माग गरे।
औषधि व्यवस्था विभागका सूचना अधिकारी किरण सुन्दर बज्राचार्यले कार्बोप्लाटिन र सिस्प्लाटिन विश्वबजारमै अभाव भएको तर्क गरे। ‘हामीले औषधि ल्याउन आग्रह गरेका छौँ। अहिले विश्वबजारमा नै यो औषधिको अभाव छ,’ उनले भने।
वीर अस्पतालका क्लिनिकल अंकोलोजी विभाग प्रमुख प्रा.डा. विवेक आचार्यले कार्बोप्लाटिन र सिस्प्लाटिन धेरै क्यान्सरमा प्रयोग हुने बताए। ‘पाठेघरको मुख, घाँटी, मुखको क्यान्सरलगायतमा यो औषधिको उपयोग हुन्छ। यो एकदमै बेसिक औषधि हो,’ उनले भने।
राजधानीको एक अस्पतालमा औषधि लिन पुगेका बिरामीले किमोथेरापीको औषधि पाउन नसकेको बताए। ‘पाए पनि कालोबजारीमा किन्न बाध्य हुनुपर्ने अवस्था छ,’ उनले भने। सरकारले समस्या समाधानमा तदारुकता देखाउनुपर्ने उनको जोड थियो।
बुधबार स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभागबीच क्यान्सरविरुद्ध प्रयोग हुने औषधिबारे छलफल भयो। मन्त्रालयले जीवनरक्षक औषधि आयातकर्ताको सूची, विगत तीन वर्षको आयात परिमाण र वार्षिक खपत दरको विवरण माग गर्यो।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर अधिकारीले विश्वबजारमा मूल्य बढेकाले अभाव हुन नदिन विज्ञहरूसँग छलफल भइरहेको बताए। ‘विश्वव्यापी रूपमा खनिज पदार्थको मूल्य बढ्यो। औषधि उपलब्ध गराउने विषयमा छलफल जारी छ,’ उनले भने। मूल्य समायोजनबारे विज्ञको सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने उनले बताए।
