जीतपुरसिमरा उपमहानगरपालिकाले मापदण्डविपरीत सञ्चालनमा रहेका ८ संस्थागत विद्यालयलाई अनुमति खारेज गर्नेसम्मको चेतावनी दिएको छ। प्राथमिक र आधारभूत तहको मात्र अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तहका कक्षा चलाएको पाइएपछि कारबाही प्रक्रिया अघि बढेको हो।
सोमवार जारी सूचनामा एड्भान्स इङ्ग्लिस बोर्डिङ स्कुल, मिसन एकेडेमी उचिडी, डुमरवाना पब्लिक इङ्ग्लिस बोर्डिङ स्कुल रजघट्टा, अम्ब्रेला एकेडेमी, न्यू होराइजन, नाइट एञ्जल, लिटल एञ्जल र आदर्श किड्स ल्यान्ड स्कुललाई सचेत गराइएको छ। यी विद्यालयले स्वीकृत अनुमतिभन्दा माथिल्लो कक्षामा पठनपाठन गराएको भेटिएको छ।
अभिभावकलाई भ्रममा पारी भर्ना गराएको र एउटै विद्यार्थीलाई अर्को विद्यालयबाट परीक्षा फारम भराई सहभागी गराएको पाइएको छ। उपमहानगरको शिक्षा महाशाखाले स्वीकृत कक्षामा मात्र पठनपाठन गराउन निर्देशन दिएको छ।
यसअघि जेठ १९ गते नगर शिक्षा समितिले ४ वटा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो। बन्द गरिएका विद्यालयमा माउन्ट एभरेष्ट, रोज एकेडेमी, अम्ब्रेला अंग्रेजी बोर्डिङ स्कुल र बाबुलाल एकेडेमी छन्। उपमहानगरपालिकाले यी विद्यालयमा भर्ना नगराउन अभिभावकलाई समेत अनुरोध गरेको छ।
माउन्ट एभरेष्टले कक्षा १२, रोज र अम्ब्रेलाले कक्षा ५, बाबुलाल एकेडेमीले कक्षा ३ सम्मको मात्र अनुमति पाएका थिए। अनुमतिभन्दा फरक ढंगले सञ्चालन भएकाले यी विद्यालयले अब कक्षा सञ्चालन गर्न पाउने छैनन्।
शैक्षिक सत्र सुरु भइसकेपछि विद्यालय बन्द गर्ने उपमहानगरको निर्णयलाई स्थानीय स्तरमा चासोका साथ हेरिएको छ। न्यू होराइजन इङ्ग्लिस स्कुलका सञ्चालक अभिषेक राजनले अनुमति प्रक्रियामा रहेकाले केही समय थप गरिदिन अनुरोध गरेका छन्। ‘हामी प्रक्रियामा रहेकाले केही समय थप गरिदिन मात्र अनुरोध गरेका हौँ,’ उनले भने।
प्राथमिक र आधारभूत तहको अनुमति लिएर निम्न माध्यमिक र माध्यमिक तह सञ्चालन गर्ने विद्यालयले विद्यार्थीलाई परीक्षा भने अन्य विद्यालयको नामबाट दिलाउने गरेका थिए।
शिक्षा महाशाखाका अधिकृत हरिश भट्टले बन्द गरिएका विद्यालयका विद्यार्थीको भविष्य अन्योलमा नपर्ने बताए। माउन्ट एभरेष्टबाहेक अन्य तीन विद्यालयका विद्यार्थीलाई छिमेकी विद्यालयमा स्थानान्तरण गरिएको छ। माउन्ट एभरेष्टका विद्यार्थीलाई पनि सार्न उपमहानगरपालिकाले सहजीकरण गर्नेछ।
‘विद्यार्थीहरूको शैक्षिक निरन्तरताको जिम्मेवारी उपमहानगरपालिकाले लिन्छ। विद्यार्थीहरू अलपत्र परेका भन्ने कुरामा सत्यता छैन,’ अधिकृत भट्टले भने।
भट्टका अनुसार मापदण्डविपरीत र एउटै भवनमा दुई विद्यालय सञ्चालन गरेकाले ती विद्यालय बन्द गरिएका हुन्। अनुमति लिएको स्थानभन्दा अन्यत्र लगेर विद्यालय सञ्चालन गरेको समेत पाइएको छ।
माउन्ट एभरेष्ट स्कुल वडा नं १ ठेगाना भए पनि हाल वडा नं २१ अमलेखगञ्जमा सञ्चालित छ। सोही भवनमा विद्यालयका सञ्चालकले ‘नाइट एञ्जल’ नामक अर्को निजी विद्यालयसमेत सञ्चालन गरिरहेका छन्। पटक–पटक सचेत गराउँदा समेत बेवास्ता गरिएपछि विद्यालय बन्द गरिएको भट्टले जानकारी दिए।
रोज एकेडेमीका सञ्चालकले ‘न्यू एकता’ नामक विद्यालय सञ्चालनमा ल्याएका थिए। रोज र न्यू एकता पनि एउटै भवनमा सञ्चालन भएकाले एउटा विद्यालय बन्द गरिएको हो। बाबुलाल एकेडेमीका सञ्चालकले ‘मिडल्यान्ड एकेडेमी’ र अम्ब्रेला एकेडेमीका सञ्चालकले सोही नामको अर्को विद्यालय सञ्चालनमा ल्याएका थिए। एउटै भवनमा दुई विद्यालय सञ्चालन गर्न नमिल्ने कानुनी प्रावधानका कारण ती विद्यालय बन्द गरिएका हुन्।
जीतपुरसिमरा उपमहानगरपालिकाभित्र हाल ४६ वटा संस्थागत विद्यालय सञ्चालनमा छन्। उपमहानगरले पछिल्लो समय निजी विद्यालयको नियमनमा कडाइ गरेको छ। यसै शैक्षिक सत्रदेखि उपमहानगरले संस्थागत विद्यालयको शुल्क निर्धारण गर्नुका साथै अनलाइन आवेदनमार्फत छात्रवृत्ति छनोट परीक्षा समेत सञ्चालन गरेको थियो।
