NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

तेलंगानाबाट १२ करोडको चोरीमा संलग्न ३ नेपाली भारतमा पक्राउ

तेलंगाना राज्यबाट करिब १२ करोडको सुन, चाँदी र नगद चोरी गरी भाग्दै गरेका तीन नेपाली नागरिक भारतको उत्तर प्रदेशमा पक्राउ परेका छन्। पक्राउ परेकाहरू घरमा कामदारको भेषमा बस्दै आएका थिए। उनीहरूले घरधनी परिवार बाहिर गएको मौका छोपी चोरी गरेका थिए। बरामद गरिएको सामानमा ७ किलो सुन, १ किलो चाँदी र २५ हजार भारतीय रुपैयाँ नगद रहेको छ।
Kamala Devi
Kamala Devi
10 June 2026, 11:48 am १ मिनेट पढाइ
आकार:
नेपाली नागरिक पक्राउ
Share:

तेलंगाना राज्यबाट करिब १२ करोड रुपैयाँ बराबरको सुन–चाँदी र नगद चोरी गरी भाग्दै गरेका तीन नेपाली नागरिक भारतको उत्तर प्रदेशस्थित रामपुर जिल्लामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पति, पत्नी र उनकी सालि रहेको भारतीय प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट ७ किलो सुन, १ किलो चाँदी र करिब २५ हजार भारतीय रुपैयाँ नगद बरामद गरिएको छ।

कामदारको भेषमा घरभित्रै ठूलो चोरी

यो घटना तेलंगानाको साइबराबाद कमिश्नरेटअन्तर्गत गाचीबाउली क्षेत्रको एक सम्पन्न परिवारको घरमा भएको हो। नेपालबाट आएका कमल, उनकी पत्नी विमला र सालि कल्पना कामदारका रूपमा बस्दै आएका थिए।

शुरुवातमा उनीहरूको व्यवहार विश्वासिलो देखिएकाले घरधनी परिवारले पूर्ण भरोसा गरेका थिए। तर उनीहरूले घरको दैनिक गतिविधि, आवतजावत र सुरक्षा अवस्थाबारे गहिरो जानकारी लिए।

परिवार बाहिर गएको मौका छोपी चोरी

घटनाको दिन घरधनी परिवार बाहिर गएको मौका छोपी तीन जनाले घरभित्र राखिएको ठूलो मात्रामा सुन–चाँदी र नगद चोरी गरेको आरोप छ। चोरी गरिएको सम्पत्तिको कुल मूल्य करिब १२ करोड भारतीय रुपैयाँ बराबर छ।

चोरीपछि तीनै जना फरार भएका थिए। नेपालतर्फ भाग्ने तयारीमा रहेको अवस्थामा भारत–नेपाल सीमातर्फ जाँदै गर्दा रामपुरमा पक्राउ परेका हुन्।

रामपुर प्रहरीले चेकिङका क्रममा उनीहरूलाई नियन्त्रणमा लियो। पक्राउपछि गरिएको खानतलासीमा चोरी गरिएको भनिएको सम्पूर्ण सामान फेला परेको प्रहरीले जनाएको छ।

तेलंगाना र उत्तर प्रदेश प्रहरीले संयुक्त अपरेशन चलाएपछि उनीहरू पक्राउ परेका हुन्। तेलंगानाको गाचीबाउली क्षेत्रमा दर्ता भएको चोरी मुद्दाको आधारमा अनुसन्धान अघि बढाइएको थियो।

रामपुरका प्रहरी प्रमुख सोमेंद्र मीणाका अनुसार, अन्य सम्भावित संलग्न व्यक्तिको खोजी जारी छ। उनीहरूको आपराधिक पृष्ठभूमिबारे जानकारी लिन नेपाल प्रहरीसँग समन्वय गरिने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। उनीहरूको थर र नेपालको ठेगाना भने खुलाईएको छैन।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार