मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२–८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार राजस्व सङ्कलन गर्यो। यो अघिल्लो आव २०८१–८२ को तुलनामा एक अर्ब ७४ करोड ६० लाख ४५ हजार बढी हो। कार्यालयको राजस्व सङ्कलनमा करिब ११ प्रतिशत वृद्धि भएको छ।
राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। २०८२–८३ का लागि कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो। कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ।
आव २०८१–८२ मा मेची भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व सङ्कलन गरेको थियो। पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको छ।
मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात–निर्यात नाका हो। यस नाका हुँदै चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पीलगायत कृषिजन्य वस्तु निर्यात हुन्छन्। पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ।
