दक्षिण–पूर्व एसियाका अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका ८ सय ६० नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयका अनुसार कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमा सञ्चालित अवैध सेन्टरहरूबाट उनीहरूको उद्धार गरिएको हो।
मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले उद्धार गरिएकामध्ये ७ सय ३३ जना कम्बोडियाबाट, १ सय १३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्याण्डबाट रहेको जानकारी दिए।
प्रवक्ता क्षेत्रीका अनुसार कम्बोडियामा अझै ४९ नेपाली विभिन्न अभियोगमा जेलमा छन्। उनीहरूलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली राजदूतावासमार्फत समन्वय भइरहेको मन्त्रालयले जनाएको छ।
उक्त क्षेत्रमा प्रतिवन्धित काममा जाने क्रम नरोकिएको र प्रक्रिया पूरा भइसकेका केही व्यक्तिहरू स्वदेश फर्कन अनिच्छुक देखिएकोप्रति मन्त्रालयले चासो व्यक्त गरेको छ। यस समस्या सम्बोधन गर्न मन्त्रालयले चार बुँदे आग्रह जारी गरेको छ।
स्क्यामिङ सेन्टरमा नेपाली पठाउने गैरकानूनी कार्यमा संलग्न व्यक्तिको विवरणसहित कारबाहीका लागि परिवार र आफन्तले नेपाल प्रहरीमा निवेदन दिनुपर्ने आग्रह छ। विदेशमा रहेका तर फर्कन अनिच्छुक नेपालीलाई सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सम्पर्क गरी परिवारले स्वदेश फर्कन प्रेरित गर्नुपर्नेछ। राजदूतावासले जरिवाना छुट गराइसकेका व्यक्तिहरूलाई तुरुन्त फर्कन भनिएको छ।
‘दक्षिण–पूर्व एसियाका कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमावर्ती क्षेत्रमा सञ्चालित विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार तथा जनचेतना अभिवृद्धिका लागि हामीले निरन्तर समन्वय र पहल जारी राखेका छौँ,’ प्रवक्ता क्षेत्रीले भने। ‘हालसम्म ती स्क्यामिङ सेन्टरबाट ८६० जना नेपालीको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ७३३ जना कम्बोडियाबाट, ११३ जना म्यानमारबाट, ८ जना लाओसबाट र ६ जना थाइल्यान्डबाट उद्धार भएका छन्।’
जेलबाट छुटाइदिने बहानामा रकम संकलन गर्ने गिरोह सक्रिय रहेको पाइएकाले त्यस्ता भ्रममा नपर्न मन्त्रालयले सचेत गराएको छ। आधिकारिक जानकारीका लागि कन्सुलर सेवा विभागमा मात्र सम्पर्क गर्न भनिएको छ। कम्बोडिया लगायतका देशमा नेपालीहरूले भोग्नुपरेको गम्भीर अवस्थाबारे सचेतना फैलाउन आग्रह गरिएको छ।
‘हाल कम्बोडियामा ४९ जना नेपाली कारागारमा रहेका छन्। उनीहरूका लागि आवश्यक कानुनी सहायता लगायतका विषयमा बैंककस्थित नेपाली राजदूतावासमार्फत समन्वय अघि बढाइएको छ,’ उनले भने। ‘उक्त क्षेत्रमा प्रतिबन्धित गतिविधिमा नेपाली जाने क्रम नरोकिएको तथा केही नेपालीको स्वदेश फिर्ता प्रक्रिया पूरा भइसके पनि नफर्किएको अवस्थालाई दृष्टिगत गर्दै हामी चार बुँदामा विशेष अनुरोध गर्न चाहन्छौं।’
आकर्षक वैदेशिक रोजगारीको प्रलोभन देखाएर नेपालीहरूलाई दक्षिण–पूर्व एसियाका अवैध स्क्यामिङ सेन्टरहरूमा पुर्याउने र बन्धक बनाउने क्रम बढ्दो छ। यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले निरन्तर समन्वय र उद्धारको पहल जारी राखेको प्रवक्ता क्षेत्रीले स्पष्ट पारे।
