सुनसरी घटनामा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको र घाइते भएकोबारे अनुसन्धान सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार मध्यरातमा सामाजिक सञ्जालमार्फत घटनाले मानवता र सामाजिक सद्भावमा आघात पुर्याएको बताए।
शाहले पीडित परिवारलाई न्याय र क्षतिपूर्ति दिलाउने प्रतिबद्धता जनाए। दोषीलाई कानुनबमोजिम कारबाही गरिने विश्वास दिलाए। सुरक्षाकर्मीबाट यस्तो क्षति हुनु सामान्य नभएको उनले स्पष्ट पारे।
उनले मनबाट तुष, रिस, डर र आक्रोश हटाउन अनुरोध गरे। उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नहुन अपिल गरे। सबैलाई सुरक्षित र संयमित भएर बस्न तथा सामाजिक सद्भाव कायम राख्न उनले अनुरोध गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पनि सुनसरी घटनाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बुधबार बिहान ८ बजे सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा बस्ने बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने दलका साथै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीलाई पनि आमन्त्रण गरिएको छ।
लामिछानेले घटनाले निम्त्याएको असहज अवस्थामा सामाजिक सद्भाव, शान्ति-सुरक्षा र द्वेष न्यूनीकरणका लागि प्रशासनिक प्रयाससँगै राजनीतिक तहबाट पनि साझा सन्देश र अपिल आवश्यक ठानेर छलफल आयोजना गरेको बताए।
