गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने विधेयक प्रमाणीकरण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार सोमबार संविधानको धारा २०१ को उपधारा ४ बमोजिम विधेयक प्रमाणीकरण भएको हो।
प्रदेश सभाले पहिलो पटक असार २५ गते यो विधेयक पारित गरेको थियो। असार ३० गते प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पुगेको विधेयक संघीय कानुनसँग बाझिएको भन्दै पुनर्विचारका लागि सन्देशसहित प्रदेश सभामा फिर्ता पठाइएको थियो।
प्रदेश सभाले भने विधेयकमा कुनै संशोधन नगरी साउन १५ गते जस्ताको तस्तै पुनः पारित गरी प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पठाएको थियो। प्रदेश सभाले आफ्नो अधिकार क्षेत्रभित्र रही विधेयक निर्माण गरिएको निष्कर्ष निकालेको थियो।
