सिरहाको गोलबजारमा साम्प्रदायिक हिंसा र आगजनीबाट करिब ३० करोडभन्दा बढीको क्षति भएको छ। नेहाल हार्डवेयर, सिरहा सुपरमार्केट र न्यू असलम वस्त्रालय पूर्णतः ध्वस्त भएका छन्।
साउन १० गतेदेखि सुनसरीमा सुरु भएको साम्प्रदायिक तनाव साउन १३ र १४ गते गोलबजारमा फैलिएको थियो। प्रदर्शनका क्रममा प्रहरीको गोली लागि औरही गाउँपालिका २ तुल्सीपुरका १५ वर्षीय गणेश यादवको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको थियो।
यादवको मृत्युपछि उग्र भीडले मुस्लिम समुदायका घर तथा व्यवसायमा आगजनी र तोडफोड गरेको प्रत्यक्षदर्शी बताउँछन्। बिहीबार दिउँसो करिब १ बजे गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरसहित करिब २० मोटरसाइकलमा आएका व्यक्तिहरूले ढुंगामुढा सुरु गरेपछि झडप चर्किएको थियो।
वडा अध्यक्ष अनवरसहितको समूहमाथि घटनामा प्रत्यक्ष संलग्नताको आरोप छ। अनवरले भने युवाहरूलाई सम्झाउन पुगेको र हिंसा भड्काउने गतिविधिमा संलग्न नभएको दाबी गरेका छन्। ‘म युवाहरूको आक्रोश नियन्त्रण गर्न गएको हुँ,’ उनले भने।
झडप चर्किएपछि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएपछि भीड अनियन्त्रित भएको थियो। त्यसपछि मुस्लिम समुदायका घर तथा पसलमा आगजनी र तोडफोड भएको हो।
प्रारम्भिक अनुमानमा गोलबजार ६ को नेहाल हार्डवेयरमा सबैभन्दा बढी क्षति भएको छ। भवनबाहेक करिब २३ करोड रुपैयाँभन्दा बढी मूल्यका सामान नष्ट भएका छन्।
सिरहा सुपरमार्केट (एबी मल) मा करिब १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सञ्चालक मोहम्मद जफिरले बताए। ‘तल्लो तलामा रहेका अधिकांश सामान आगोले नष्ट गरिदियो। वर्षौंको लगानी एकैछिनमा खरानी भयो,’ उनले दुखेसो पोखे।
गोलबजार नगरपालिका ८ चोहर्वा चोकस्थित न्यू असलम वस्त्रालयमा भवनबाहेक करिब ५ करोड रुपैयाँ बराबरको क्षति भएको सञ्चालक अस्लम खानले जानकारी दिए। दशैं-तिहार लक्षित करिब २ करोड रुपैयाँ बराबरका कपडासहित सबै सामान जलेर नष्ट भएका छन्।
खानका अनुसार दुई पुस्तादेखि सञ्चालित व्यवसाय र बस्ने घरसमेत गुमाउनुपरेको छ। व्यवसाय विस्तारका लागि लिएको २ करोड ८ लाख रुपैयाँ कर्जा तिर्न नसक्दा बैंकले धितो सम्पत्ति लिलाम गरिसकेको छ। अझै करिब २ करोड रुपैयाँ बाँकी छ।
आर्थिक अभावले पसलको बीमा गर्न नसकिएको खानले बताए। जिल्ला प्रशासन कार्यालय सिरहाले कर्फ्युका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार आइतबार बेलुका कर्फ्यु हटाइएको छ। सोमबारदेखि प्रहरी परिचालन गरी विस्तृत विवरण संकलन सुरु गरिनेछ।
