ओमानको तट नजिकै ‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा अज्ञात वस्तुले प्रहार गरेको छ। बेलायती समुद्री निगरानी निकाय युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) ले स्थानीय समयअनुसार बिहान करिब २ बजे यो घटना भएको जनाएको छ।
यो घटना अमेरिका र इरानबीच चलिरहेको वार्ताको पृष्ठभूमीमा भएको हो। यूकेएमटीओका अनुसार जहाजमाथि ओमानको अल–खासाबबाट ३७ किलोमिटर उत्तरपूर्वमा प्रहार भएको थियो। जहाजको झन्डा, कार्गो वा अन्य विवरण सार्वजनिक गरिएको छैन।
बेलायती समुद्री सुरक्षा कम्पनी एम्ब्रेले जहाजमा क्षति पुगेको पुष्टि गरे पनि थप विवरण खुलाएको छैन। ‘स्ट्रेट अफ होर्मुज’ विश्वको सबैभन्दा महत्वपूर्ण ऊर्जा ढुवानी मार्ग हो। युद्धअघि विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले पुनः वार्ता सुरु भएको बताएका छन्। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेइले अमेरिकासँग कुनै प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारे। उनले ओमानसँग ‘स्ट्रेट अफ होर्मुज’ मा सुरक्षित जलयात्रासम्बन्धी विषयमा मात्र छलफल भइरहेको बताए।
ट्रम्पले इरानले वार्ताको प्रस्ताव गरेको दाबी गर्दै तेहरानको सार्वजनिक अभिव्यक्तिप्रति असन्तुष्टि जनाए। कतारका विदेश मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले सबै पक्षसँग कूटनीतिक मध्यस्थताको प्रयास जारी रहेको बताए।
यसैगरी, इरान समर्थित यमनका हुथी विद्रोहीले साउदी अरबको नज्रान विमानस्थलस्थित ‘संवेदनशील लक्ष्य’ मा ड्रोन आक्रमण गरेको दाबी गरेका छन्। साउदी अरबले यसमा तत्काल कुनै प्रतिक्रिया दिएको छैन।
