मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजसंस्था हटेपछि नेपालमा विदेशी चलखेल बढेको दाबी गरेका छन्। उनले आगामी फागुन २१ गते हुने चुनावलाई नेपालीका लागि ‘पासो’ भएको संज्ञा दिए। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले वर्तमान नेतृत्वले समाजलाई विभाजित गरेको आरोप लगाए।
प्रसाईंले राजसंस्था रहँदा नेपाल पशुपति, सगरमाथा, माता दुर्गा तथा वेदको भूमिका रूपमा चिनिने गरेको स्मरण गरे। अहिलेको नेतृत्व पैसामा बिक्ने बनेको उनको भनाइ छ। सिंहदरबार, सर्वोच्च अदालत र घर जलाइएका घटनामा संलग्नलाई जनताले अनुमोदन गरेको उनले टिप्पणी गरे।
उनले संविधानसभाको पहिलो बैठकबाट धर्मनिरपेक्षता र राजसंस्था हटाउने व्यवस्था अन्तरिम संविधानमा समावेश गरिएकै दिनदेखि नेपालले दुःख भोग्न थालेको दाबी गरे। ‘राजा हुँदासम्म विदेशीहरूले नेपालमा चलखेल गर्न पाएनन्,’ उनले भने, ‘संविधानसभाको पहिलो बैठकमै धर्मनिरपेक्षता र राजसंस्था हटाइयो। त्यही दिनदेखि नेपालीलाई दशा लाग्यो।’
प्रसाईंले आगामी फागुन २१ गतेको चुनावलाई ‘नेपाल र नेपालीहरूको पासो’ भने। उनले नेपाली सेना, प्रहरी र निजामती कर्मचारीलाई सम्बोधन गर्दै भने, ‘अब तपाईँहरूको देश रहनेवाला छैन।’
उनले सुनसरी घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीमाथि आरोप लगाए। सेना परिचालनको विषयमा प्रश्न उठाउँदै उनले भने, ‘सुनसरी घटना प्रधानमन्त्री र गृहमन्त्रीकै कारण भएको हो। सेना त्यसै परिचालन हुँदैन। मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिको हस्ताक्षर चाहिन्छ। तर सेना त्यसरी परिचालन गरिएको छ।’
