धरान उपमहानगरपालिकामा आर्थिक वर्ष २०८३/८४ को बजेट तर्जुमा विवादले कार्यपालिका बैठक र नगरसभा स्थगित भएको छ। शुक्रबारका लागि तय भएको दुवै बैठक स्थगित गरियो।
कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले शुक्रबार जारी गरेको विज्ञप्ति अनुसार, वडा नम्बर १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) र वडा नम्बर १५ का अध्यक्ष नरेश इवारमले बजेट तर्जुमा समितिको बैठकमा आफूप्रति अमर्यादित र अश्लील अभिव्यक्ति प्रयोग गरे।
बजेट निर्माण प्रक्रियालाई छलफल, संवाद, सहमति र सहभागितामूलक अभ्यासबाट निष्कर्षमा पुर्याउने उद्देश्यले शुक्रबार बिहान ७ बजे बजेट तर्जुमा समितिको बैठक बोलाइएको थियो। बजेटलाई समयमै अन्तिम रूप दिन कार्यपालिका, विषयगत समिति तथा सरोकारवालाबीच पटक–पटक छलफल र सहमति हुँदै आएको विज्ञप्तिमा उल्लेख छ।
कार्यवाहक नगर प्रमुख बेघाको आरोप छ, वडा अध्यक्षहरूले भएका सहमति कार्यान्वयन गरेनन्। उनीहरूले समयमै बजेट प्रस्तुत गर्न अवरोध सिर्जना गरे। नगरवासीको साझा हितसँग सम्बन्धित योजना तथा कार्यक्रमको बजेट कटौती गर्न निरन्तर दबाब दिए।
विषयगत समिति तथा वडा कार्यालयबाट प्राथमिकताका आधारमा छनोट भई आएका योजना तथा कार्यक्रम समायोजन गरी बजेटलाई अन्तिम रूप दिने क्रममा राई र इवारमले अमर्यादित तथा अश्लील अभिव्यक्ति दिए। उक्त व्यवहारले बैठकको वातावरण असहज बनेको उपमहानगरपालिकाले जनाएको छ।
लोकतान्त्रिक व्यवस्थामा मतभिन्नता, आलोचना र असहमति स्वाभाविक हुन्। तर, त्यसलाई संवाद, संयमता, पारस्परिक सम्मान र संस्थागत मर्यादाभित्र व्यक्त गर्नुपर्ने कार्यवाहक नगर प्रमुख बेघाले बताए।
उनले जनप्रतिनिधिबाट अपेक्षित मर्यादा, संयमता र जिम्मेवारीविपरीत भएको व्यवहारप्रति दुःख व्यक्त गर्दै खेद प्रकट गरे। बैठकमा उत्पन्न असहज परिस्थितिका कारण शुक्रबारका लागि निर्धारित कार्यपालिका बैठक तथा नगरसभा स्थगित गरियो। बैठक स्थगित हुँदा आम धरानवासीमा परेको असुविधाप्रति कार्यवाहक नगर प्रमुख बेघाले क्षमायाचना गरेका छन्।
