NM Khabar 10 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

डिम्ब तस्करी प्रकरण: डा. शर्माको इन्कारी बयान, एक लाखको कारोबार खुलासा

ललितपुरको बीएण्डबी अस्पतालमा १७ वर्षीया किशोरीको डिम्ब तस्करी प्रकरणमा डा. नूतन शर्माले प्रहरीसमक्ष इन्कारी बयान दिएकी छिन्। प्रहरीले डा. शर्मा र राधिका गोतामेबीच भएको एक लाख रुपैयाँको आर्थिक कारोबारको विवरण फेला पारेको छ। पीडित किशोरीलाई साथीको प्रलोभनमा पारी राधिका गोतामेमार्फत आईभीएफ केन्द्रमा लगिएको थियो।
Arjun Basnet
Arjun Basnet
9 August 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
डिम्ब तस्करी डा. नूतन शर्मा
Share:

ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा १७ वर्षीया किशोरीको डिम्ब निकालिएको आरोपमा वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. नूतन शर्माले आफू निर्दोष रहेको इन्कारी बयान दिएकी छिन्। पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएपछि प्रहरीले डा. शर्मासँग बयान लिएको हो।

गत बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा लिइएको बयानमा डा. शर्माले आफू यस प्रकरणमा संलग्न नरहेको र कुनै कानुनविपरीतको काम नगरेको दाबी गरिन्। बयान सकिएपछि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाड्न निर्देशन दिएपछि उनलाई रिहा गरिएको थियो।

यसअघि डा. शर्मालाई पक्राउ गर्न प्रहरीले दुई पटक अनुमति माग्दा समेत अनुमति नमिलेको स्रोतले जनाएको छ।

यसै प्रकरणमा प्रहरीले लमजुङ घर भई ललितपुरको इमाडोल बस्ने २१ वर्षीया राधिका गोतामेलाई पक्राउ गरेको थियो। गोतामेलाई पनि सरकारी वकिलको निर्देशनमा हाजिरी जमानीमा रिहा गरिएको छ।

प्रहरी अनुसन्धानका क्रममा गोतामेको मोबाइलबाट डा. शर्मा र पीडित किशोरीबीच भएको आर्थिक कारोबारसम्बन्धी विवरण फेला परेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, गत डिसेम्बर २०२५ मा डा. शर्माले मोबाइल बैंकिङमार्फत गोतामेलाई दुई पटक गरी कुल एक लाख रुपैयाँ पठाएको देखिएको छ।

पीडित किशोरीले प्रहरीलाई दिएको बयानमा आफ्नै साथीले ‘डिम्ब निकाले केही हुँदैन, पैसा पनि पाइन्छ’ भन्दै प्रलोभनमा पारेको बताएकी थिइन्। त्यसपछि उनलाई राधिका गोतामेको सम्पर्कमा पुर्‍याइएको र गोतामेमार्फत बीएण्डबी अस्पतालको आईभीएफ केन्द्रमा लगिएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार