सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकले ५० प्रतिशत छुट नपाएको गुनासो बढेपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई कार्यान्वयन गर्न पुनः ताकेता गरेको छ। मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाले यातायात मन्त्रालयलाई पत्र लेख्दै कानूनबमोजिमको सुविधा दिन अनुरोध गरेको हो।
ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को दफा ९ ले सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकका लागि सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ। ऐनले यात्रु भाडादरमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्ने कानूनी आधार पनि तय गरेको छ।
कानूनमा स्पष्ट व्यवस्था भए पनि अधिकांश ज्येष्ठ नागरिकले छुट नपाएको गुनासो मन्त्रालयमा आइरहेको छ। यसले गर्दा उनीहरू सार्वजनिक यातायात प्रयोग गर्दा समस्यामा पर्ने गरेका छन्।
मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै कानून कार्यान्वयनको व्यवस्था मिलाउन भनेको छ। यसको कार्यान्वयन भएमा ज्येष्ठ नागरिकले भोग्दै आएको छुटसम्बन्धी समस्या समाधान हुने अपेक्षा गरिएको छ।
