पश्चिमी कोलम्बियामा सोमबार बिहान गएको ७.४ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या २५० नाघेको छ। यो शताब्दीकै विनाशकारी भूकम्पमध्ये एक हो।
भूकम्पले कफी उत्पादन गर्ने मुख्य क्षेत्रहरूमा ठूलो क्षति पुर्याएको छ। पेरेरा, काली र चोकोलगायतका क्षेत्रमा सयौँ अपार्टमेन्ट, घर, विद्यालय र अस्पतालहरू भत्किएका छन्। यस विपद्मा परी हजारौँ मानिसहरू घरबारविहीन बनेका छन्। कतिपय क्षेत्रमा सञ्चार र विद्युत् सेवा अझै अवरुद्ध छ।
भग्नावशेषमा अझै पनि मानिसहरू फसेको आशंकामा उद्धार टोलीहरू क्रेन, उत्खनन मेसिन र आफ्नै हातले खोज तथा उद्धार कार्य जारी राखेका छन्। उद्धारकर्मीहरूले जीवित मानिसको आवाज सुन्ने प्रयासमा बेलाबेलामा पूर्ण शान्त रहन आग्रह गरिरहेका छन्। प्रभावित क्षेत्रका बासिन्दाहरूले मानवी साङ्लो बनाएर बालुवा र भग्नावशेष हटाउने काम गरिरहेका छन्।
घटनास्थलमा पुगेका स्थानीय नागरिक जोस ग्यालेगोले सहरको दृश्य ‘अत्यन्तै विनाशकारी’ र ‘जीवनमा आएको दुःस्वप्न जस्तै’ रहेको बताए।
कोलम्बियाका राष्ट्रपति एबेलार्डो डे ला एस्प्रिएलाले प्रभावित क्षेत्रको अवलोकन गर्दै राहत र आर्थिक सहयोगको घोषणा गरेका छन्। स्थानीय प्रशासन र उद्धारकर्मीहरूले भूकम्प गएको पहिलो ४८ देखि ७२ घण्टा उद्धारका लागि अति महत्वपूर्ण हुने बताएका छन्।
सरकारी तथ्यांकअनुसार मृतकको संख्या १८१ पुगेको छ। तर, स्थानीय अधिकारीहरूको तथ्यांक जोड्दा यो संख्या २४० भन्दा बढी हुन सक्ने बताइएको छ। राष्ट्रपति एस्प्रिएलाले देशमा आपत्काल घोषणा गरेका छन्। पेरेरा सहर पुगेर उनले करिब २ हजार ६ सय जना घाइते र झन्डै २०० जना बेपत्ता रहेको जानकारी दिए। भूकम्पमा १ हजार १ सयभन्दा बढी घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने ८ हजारभन्दा बढी घरमा क्षति पुगेको छ।
