जापानको शिजुओका सहरमा एक नेपाली युवाले भारतीय पर्यटकलाई सहयोग गर्ने क्रममा दुर्व्यवहार सहनुपरेको र आफ्नो जागिर गुमाउनुपरेको घटना बाहिर आएको छ। यो घटनाले जापानमा विदेशी कामदारले भोग्नुपर्ने शोषण र रंगभेदी व्यवहारलाई उजागर गरेको छ।
भारतीय ट्राभल भ्लगर ‘On Road Indian’ ले आफ्नो युट्युब च्यानलमा यो घटनाको विवरण सार्वजनिक गरेका हुन्। भ्लगरका अनुसार, जापानमा आफ्नो अन्तिम दिन एक ७-इलेभेन स्टोरमा खाना तताउन अनुरोध गर्दा त्यहाँ कार्यरत एक नेपाली युवाले सहयोग गर्न खोजेका थिए। तर, स्टोरकी जापानी साहुनीले भारतीय पर्यटकलाई थाहा पाएपछि ती नेपाली युवा र भ्लगरमाथि बिनाकारण चिच्याउँदै दुर्व्यवहार सुरु गरेकी थिइन्।
प्रहरी आइपुग्नुअघि साहुनीले ती नेपाली कामदारमाथि सामान फ्याँक्ने, जुत्ताले हान्ने र अश्लील गालीगलौज गरेकी थिइन्। तर, ती युवाले चुपचाप हात जोडेर सबै दुर्व्यवहार सहिन्। भ्लगरका अनुसार, ती नेपाली युवाले चाहेको भए झुट बोलेर आफ्नो जागिर बचाउन सक्थे, तर उनले एक भारतीय नागरिकलाई बचाउन सत्यको पक्षमा उभिएर सबै दुर्व्यवहार आफैं सहे।
दुःखद पक्ष के छ भने, साहुनीले ती निर्दोष नेपाली युवालाई सबैको अगाडि तत्काल कामबाट निकालिदिइन्। भ्लगरले भावुक हुँदै भने, ‘एकजना भारतीयलाई मद्दत गर्न खोज्दा एउटा नेपालीले आफ्नो जागिर गुमाउनुपर्यो, मलाई एकदमै ग्लानि महसुस भइरहेको छ।’
यस घटनाले जापानमा ‘सभ्यता’ को आडमा विदेशी (विशेषगरी दक्षिण एसियाली) कामदारहरूले भोग्नुपर्ने चरम शोषण र रंगभेदलाई प्रस्ट पारेको छ। जापानी प्रहरीले भारतीय पर्यटकलाई सुरक्षित जान दिए पनि साहुनीले गरेको दुर्व्यवहारको भिडियो डिलिट गर्न लगाएर आफ्नै नागरिकलाई जोगाएको थियो। साहुनीले आफ्नै कर्मचारीलाई कुटपिट र गाली गर्दा पनि प्रहरी मूकदर्शक बनेको थियो।
जागिर गुमाएर सडकमा पुग्दा पनि झुट नबोल्ने र सत्यको साथ नछाड्ने ती अज्ञात नेपाली युवाको साहस र नेपाली संस्कारको उच्च प्रशंसा गरिएको छ।
