बागलुङको निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको छ। ४० घर उच्च जोखिममा परेका छन्। मनसुन सक्रिय भएसँगै आएको पहिरोले स्थानीयका घर, गोठ र शौचालयमा आंशिक क्षति पुर्याएको छ।
वडाध्यक्ष कुवीर विश्वकर्माका अनुसार पहिरोले घरको पाली भत्किने, छानो उप्कने र घर चर्किने जस्ता क्षति भएको छ। धनबहादुर खत्री, राजन परियार, हरिकला घर्ती, दीपक परियार, तारा घर्ती, ज्ञानबहादुर परियार, देविराम घर्ती र तिका घर्तीको घरमा क्षति पुगेको छ।
उपल्लो बेङ्ग्रीको पहिरोले बस्तीमा थप जोखिम बढाएको छ। लगातारको वर्षाले पहिरो थप खस्ने सम्भावना रहेकाले जोखिममा परेका परिवारलाई सतर्क रहन वडाध्यक्ष विश्वकर्माले आग्रह गरेका छन्। काल्नेचौर, उपल्लाबेङ्ग्री, हाडीचार र बासखोला सडकखण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेको छ।
