पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार बेपत्ता भएका दुई बालकको अवस्था दोस्रो दिन पनि अज्ञात छ। सुरक्षा निकायले गोताखोरसहित ‘र्याप्लिङ क्लाइम्बिङ’ र ‘रोप रेस्क्यु’ विधि प्रयोग गरी खोजी तीव्र पारेको छ।
स्याङ्जा स्थायी घर भई पोखरा–१४ छिनेडाँडा बस्ने १४ वर्षीय निक्सन गुरुङ र चाउथे बस्ने १५ वर्षीय ओमन राई शनिबार दिउँसो १:२० बजे खोला तर्ने क्रममा बगेका थिए। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
सशस्त्र प्रहरी बल नेपाल नं २४ गण कालिकाबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमान्डमा पाँच जना गोताखोरसहितको टोली परिचालन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार टोलीले करिब दुई किलोमिटर तलको पक्की पुलबाट खोजी गरेको छ।
सशस्त्र प्रहरी सहायक हवल्दार किरण सुवेदी र जवान देवराज खनाल डोरीको सहायताले पुलबाट करिब ८० मिटर तलको खोँचमा ओर्लिएर खोजीमा जुटेका छन्।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाली सेनाका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनी, सशस्त्र प्रहरी उपरीक्षक बसन्तबहादुर सिंह, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक मोहनबहादुर कुँवर र प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानसहितको टोलीले स्थलगत अनुगमन गरेको छ।
विजयपुर खोला सेती नदीमा मिसिने भएकाले खोजीको दायरा नदी किनारसम्म फराकिलो पारिएको छ। सहायक प्रजिअ बरालले तनहुँ, चितवन र नवलपरासीका प्रशासन र प्रहरीसँग समन्वय भइरहेको बताए।
जिल्ला प्रशासन कार्यालय कास्कीले मनसुन सक्रिय रहेकाले नदी किनारमा नजान, बालबालिकामाथि निगरानी राख्न र तटीय बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सर्न अपिल गरेको छ।
