सिद्धबाबा सुरुङमार्ग नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। बुधबार बिहान करिब ७:३५ बजे सुरुङमार्गको पाल्पातर्फ प्रवेश गर्ने स्थानबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट पहिरो खसेको Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
पहिरो झर्न रोकिएपछि सडक खुलाउन डोजर प्रयोग गरेर काम थालिएको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार सडक खुलाउन एकदेखि दुई घण्टासम्म लाग्न सक्ने अनुमान छ।
सिद्धबाबा क्षेत्रमा पहिरोको उच्च जोखिम रहेकाले प्रहरीले यात्रु तथा सवारी चालकलाई सावधानी अपनाउन आग्रह गरेको छ। राजमार्ग अवरुद्ध हुँदा पाल्पा–बुटवल सडकखण्डमा यातायात प्रभावित भएको छ।
