राज्यबाट कुनै सहयोग नपाएपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फेरि मातृभूमि छाड्न बाध्य भएका छन्। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण भार र अधुरो सपना समाधानका लागि राज्यले साथ नदिएपछि उनी देश छोड्न विवश भएका हुन्।
सामाजिक सञ्जालमा धुर्मुसले लेखेका छन्, ‘न्याय पाउने, आफ्नै माटोमा दुःख–सुख साट्ने र फेरि हजुरहरूलाई हँसाउने सपना बोकेर छोरीसहित फर्किएको थिएँ। दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा गुहारेँ।’
उनले भने, ‘न राज्यले मेरो आवाज सुन्यो, न पीडा सुनाउने अवसर पाएँ। समस्या समाधान त परै जाओस्, १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। १८ करोड ४३ लाखको ऋण, अधुरा सपना र मनभरिको पीडा बोकेर मातृभूमिबाट फर्किन बाध्य भएँ।’
धुर्मुसले आफ्नै देशमा न्याय खोज्दा आवाज बेवारिसे भएको अनुभूति सुनाए। ‘इमानदारीका साथ केही गरौँ, माटोलाई केही दिउँ भन्ने सपना देख्नेहरूको नियति यस्तै हुँदो रहेछ। १० वर्ष समाज र राष्ट्रलाई समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन यही होला,’ उनले लेखे।
उनको मन भारी छ, ओठ कापेका छन्, आँखा रसाएका छन्। ‘तर हृदयको कुनामा आशा बाँकी छ। कुनै दिन राज्यले सम्झिनेछ। समयले सत्य बोल्नेछ। हाम्रो पीडा सुनिनेछ। संघर्षको मूल्य बुझिनेछ। देशभक्ति भावनाको कदर हुनेछ। आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिने छैन,’ उनले भने।
