बैतडी र दार्चुलामा भारी वर्षाको पूर्वानुमान छ। यसले गर्दा शनिबार बिहान ६ बजेदेखि आइतबार बिहान ६ बजेसम्म यातायात सेवा बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालयले बाढीपहिरोको जोखिम बढेको भन्दै सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।
मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुवै जिल्लामा अधिक वर्षाको सम्भावना औंल्याएका छन्। सतर्कता अपनाउन आग्रह गरेपछि यो निर्णय लिइएको हो।
बैतडीमा शुक्रबार रातिदेखि लगातार वर्षा भइरहेको छ। स्थानीय प्रशासनले लामो तथा छोटो दूरीका सबै सवारीसाधन नचलाउन यातायात व्यवसायी र सर्वसाधारणलाई आग्रह गरेको छ।
दार्चुलालाई ‘अति जोखिम’ वर्गमा राखिएकाले त्यहाँ सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।
