पर्साको वीरगन्जस्थित मधेस विश्वविद्यालयले चालु शैक्षिकसत्र २०८३ बाट स्नातकोत्तर तहको एमबिए तथा स्नातक तहको एलएलबी र बिबिएसहित तीन नयाँ शैक्षिक कार्यक्रम सुरु गरेको छ।
विश्वविद्यालयले यसअघि नै स्नातकोत्तर तहको एमपिए, कानुन संकायतर्फ बीए एलएलबी र जनप्रशासन संकायतर्फ बिपीएमका कक्षाहरू सञ्चालन गर्दै आएको थियो।
मधेस विश्वविद्यालयका रजिष्ट्रार विजयकुमार यादवका अनुसार, ‘एलएलबीको कक्षा सञ्चालन गरिसकेका छौँ र बिबीएको कक्षा पनि सञ्चालनको तयारी अन्तिम चरणमा छ।’ उनले एमपिए दोस्रो ब्याचको भर्ना प्रक्रिया पनि छिट्टै सकिएपछि कक्षा सञ्चालन हुने बताए। शैक्षिक कार्यक्रममा विद्यार्थीको आकर्षण बढेकाले थप कार्यक्रम विस्तार गर्न विश्वविद्यालय हौसिएको यादवको भनाइ छ।
विश्वविद्यालयको स्थापना र भावी विस्तार
मधेस प्रदेशसभाले २०७९ वैशाख १४ गते मधेस विश्वविद्यालय ऐन, २०७९ जारी गरेपछि सोही वर्ष भदौ २२ गते विश्वविद्यालयको स्थापना भएको थियो। विश्वविद्यालयले हाल वीरगन्जस्थित नेशनल ट्रेडिङको भवन भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको छ।
विश्वविद्यालयका उपकुलपति प्रा डा दीपकबहादुर शाक्यले आफूहरूले सञ्चालन गरेका कक्षाहरूमा विद्यार्थीको आकर्षण देखेर उत्साहित भएको बताएका छन्। उनले अनुसन्धान र प्रशिक्षणको माध्यमबाट शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउने लक्ष्यका साथ मधेस प्रदेशमै पहिलो ‘मधेस अनुसन्धान तथा प्रशिक्षण केन्द्र’ स्थापना गर्ने योजना रहेको जानकारी दिए।
निकट भविष्यमै चिकित्सा र स्वास्थ्यसम्बन्धी कक्षाहरू पनि सञ्चालन गर्ने विश्वविद्यालयको लक्ष्य छ। उपकुलपति शाक्यका अनुसार, मेडिकल, ल्याब टेक्निसियन र फिजियोथेरापीलगायतका कक्षाहरू चलाउने तयारी भइरहेको छ। तत्कालका लागि वीरगन्जको नारायणी अस्पताल र पोखरियास्थित पोखरिया अस्पताललाई आधार बनाएर एमबीबिएस कक्षा सञ्चालन गर्ने योजनासहित प्राविधिक टोलीबाट सम्भाव्यता अध्ययन गरिनेछ।
उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने उद्देश्यले एमफिल र पिएचडीसँगै फार्मेसी तथा विज्ञान र सूचना प्रविधिसँग सम्बन्धित प्राविधिक शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्ने विश्वविद्यालयको दीर्घकालीन योजना छ।
मधेस प्रदेशका ग्रामीण क्षेत्रका जनतालाई उच्च शिक्षामा समाहित गराउन, शिक्षालाई श्रम, श्रमलाई सीपसँग र सीपलाई समृद्धिसँग जोड्ने विश्वविद्यालयको प्रमुख उद्देश्य हो। यसका लागि दक्ष जनशक्ति उत्पादन गर्न मधेस प्रदेशमै पहिलो ‘मधेस स्किल स्कुल’ स्थापना गर्ने लक्ष्य पनि राखिएको छ। उपकुलपति शाक्यले वीरगन्ज महानगरपालिकाबाट केही पर उपलब्ध ३५ बिघा जग्गामा चालु आर्थिक वर्षदेखि नै भवन निर्माणको कार्य अगाडि बढाउने बताएका छन्।
