भारतीय अभिनेता नाना पाटेकरको अन्त्येष्टि महाराष्ट्र सरकारले राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको छ। बिहीबार ७५ वर्षको उमेरमा गोवामा उनको निधन भएको थियो।
पाटेकरको पार्थिव शरीर बिहीबार साँझ करिब ५ बजे पुणे लगिनेछ। त्यसपछि पुणेको डोणजेस्थित उनको फार्महाउसमा प्रशंसक तथा शुभेच्छुकका लागि अन्तिम दर्शनको व्यवस्था गरिनेछ। सोही परिसरमा उनको अन्त्येष्टि गरिनेछ।
अक्टोबर ८, २०२६ मा गोवाको डोना पाउलास्थित निवासमा हृदयघातका कारण उनको निधन भएको थियो। मणिपाल अस्पतालका डा. शेखर साल्करका अनुसार बिहान ५:२० बजे उनको निधन भएको हो। चिकित्सकहरूले करिब ४५ मिनेटसम्म सीपीआरमार्फत बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्।
नाना पाटेकरका छोरा मल्हार पाटेकरले बुबाको निधनको पुष्टि गरेका छन्। उनको निधनपछि मेडिको-लिगल प्रक्रिया र पोस्टमार्टमसम्बन्धी प्रक्रिया अघि बढाइएको छ।
निधन हुनुभन्दा अघिल्लो रात करिब २:३० बजे उनले एक साथीलाई आफूलाई असहज भइरहेको भन्दै सन्देश पठाएका थिए। उनका साथी बिहान करिब ४ बजे निवासमा पुग्दा पाटेकरलाई अत्यधिक पसिना आएको र उनी बिस्तारै बेहोस हुँदै गएको पाइएको थियो। अस्पतालको आपतकालीन टोलीले निवासमै पुगेर उनलाई सीपीआर दिएको थियो।
नाना पाटेकरको जन्म १ जनवरी १९५१ मा महाराष्ट्रको मुरुड–जञ्जिरामा भएको थियो। सन् १९७८ को ‘गमन’ बाट उनको फिल्मी यात्रा सुरु भएको थियो भने सन् १९८९ को ‘परिन्दा’ फिल्म उनको करिअरको निर्णायक मोड बनेको थियो। उनले तीनवटा राष्ट्रिय फिल्म पुरस्कार र सन् २०१३ मा पद्मश्री पुरस्कार प्राप्त गरेका थिए।
यसअघि: नाना पाटेकरको निधन: हृदयघातपछि बिहान ५:२० बजे मृत घोषित, मेडिको-लिगल मुद्दा दर्ता
