दक्षिण सुडानको पश्चिम कोर्डोफान राज्यको अल–दिबाब सहरमा आइतबार साँझ भएको ड्रोन आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ।
प्रत्यक्षदर्शी र चिकित्सक स्रोतका अनुसार, मृतकमध्ये घर फर्कने प्रतीक्षामा रहेका यात्रुहरू धेरै थिए। सञ्चार सेवा अवरुद्ध भएकाले प्रत्यक्षदर्शी अहमद अबाकर वादीले स्याटेलाइट इन्टरनेटमार्फत एएफपीलाई घटनाबारे जानकारी दिएका हुन्।
वादीले आक्रमणपछि ५० जनाको शव गाड्न सहयोग गरेको बताए। उनका भाइ मोहम्मद पनि मृतकमा परेका छन्।
आक्रमणमा घाइते भएका ४७ जनालाई नजिकैको अल–मुजलाद सहर लगिएको थियो। त्यहाँ उपचारका क्रममा तीमध्ये ३० जनाको मृत्यु भएको एक चिकित्सक स्रोतले एएफपीलाई जानकारी दिएको छ। अल–मुजलादमा थप चार जना घाइते भएका छन्।
यो आक्रमण अप्रिल २०२३ मा सुडानी सेना र र्यापिड सपोर्ट फोर्सेस (RSF) बीच युद्ध सुरु भएदेखि भएका सबैभन्दा घातक आक्रमणहरू मध्ये एक हो। आरएसएफले यस आक्रमणको लागि सुडानी सेनालाई जिम्मेवार ठहराएको छ।
आक्रमणको जिम्मेवारी कसले लिएको हो भन्नेबारे तत्काल स्पष्ट जानकारी प्राप्त भएको छैन। दक्षिण सुडानमा डिसेम्बर २२, २०२६ मा पहिलो आम निर्वाचन हुने तय भएको छ, तर मतदाता दर्ता र सुरक्षा सुधारजस्ता चुनौतीहरू कायम छन्।
