जनताले नयाँ अनुहार मात्र होइन, परिणाममुखी सोच र कार्यशैली खोजेको रास्वपा उपनेता गणेश पराजुलीले ठोकुवा गरेका छन्।
पार्टीको प्रशिक्षण विभागले आज आयोजित कार्यक्रमको उद्घाटन समारोहमा उनले सांसदहरूलाई जनअपेक्षाअनुसार क्रियाशील हुन आग्रह गरे। उपनेता पराजुलीले राजनीतिलाई सेवा, जिम्मेवारी र परिणामसँग जोड्नुपर्ने जनअपेक्षा रहेको बताए। उनले पार्टीप्रतिको विश्वासलाई परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिए।
“नेपालको लोकतन्त्र विशिष्ट मोडमा उभिएको छ। यसलाई सशक्त बनाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ,” उनले भने। राजनीतिमा नयाँ पुस्ताको ऊर्जा, पारदर्शिता, सुशासन, अध्ययनशीलता र जनउत्तरदायित्वको अभ्यास आवश्यक रहेको उनले औंल्याए।
प्रशिक्षण कार्यक्रमको उद्देश्य नयाँ राजनीतिक संस्कारको आधारशिला निर्माण गर्नु रहेको पराजुलीले बताए। प्रशिक्षणबाट प्राप्त अनुभव र ज्ञानले आगामी संसद् अधिवेशनलाई प्रभावकारी बनाउनेमा उनले विश्वास व्यक्त गरे।
उपनेता पराजुलीले प्रशिक्षणका मुख्य विषयवस्तुबारे जानकारी दिए। संसद् र संसदीय समितिको भूमिका, पार्टी–संसद् र सरकारबीचको समन्वय यसमा समेटिनेछ। संसदीय मर्यादा, आचरण, तथ्यमा आधारित बहस र जनउत्तरदायी राजनीतिक व्यवहार प्रशिक्षणका आयाम हुन्। प्रभावकारी नेतृत्व विकास पनि यसको अभिन्न अंग हो।
“आजको राजनीति केवल नाराले चल्दैन,” उनले प्रस्ट्याए। “क्षमता, तयारी, अध्ययन र परिणामले राजनीतिलाई परिभाषित गर्छ।” जनताले अब ‘के भन्यो’ भन्दा ‘के गर्यो’ भन्ने आधारमा मूल्याङ्कन गर्ने उनले विश्लेषण गरे।
रास्वपाले सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई मूल आधार बनाएको पराजुलीले औंल्याए। जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गर्न सक्षम सांसद र सशक्त संसद्को आवश्यकता रहेकोमा उनले जोड दिए। उनले प्रशिक्षणलाई सिकाइ, आत्ममूल्याङ्कन र अनुभव आदानप्रदानको अवसरका रूपमा लिन आग्रह गरे। यसले भविष्यको राजनीतिक संस्कार निर्माण गर्नेछ।
