राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरले राष्ट्रिय बाल अधिकार परिषद् खारेज गर्ने सरकारी निर्णय तत्काल फिर्ता लिन माग गरेकी छिन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले बालबालिकाको संरक्षणको विषयलाई गम्भीरतापूर्वक लिन सरकारलाई आग्रह गरिन्।
अघिल्लो सरकारले परिषद् खारेज गर्ने निर्णय गरेको भन्ने सुनेको उल्लेख गर्दै सांसद रानाले यसमा सरकारले पुनर्विचार गर्नुपर्ने बताइन्। बालबालिकाको हक, हित र संरक्षणका लागि कुनै पनि वैकल्पिक व्यवस्था नगरी परिषद् खारेज गरिएकोमा उनले तीव्र असन्तुष्टि व्यक्त गरिन्।
सांसद रानाले सरकारले बालबालिकाको संरक्षणलाई गम्भीर विषय मानेर आवश्यक कदम चाल्नुपर्नेमा जोड दिइन्। यसैबीच, नेपाली कांग्रेसका सांसद विश्वकर्माले झापाका सुकुम्बासीलाई वैकल्पिक व्यवस्थापन बिना नहटाउन सरकारसँग माग गरेका छन्।
त्यस्तै, नेपाली कांग्रेसका सांसद निश्कल राईले सरकारले परम्परा भत्काउने नाममा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकामाथि हस्तक्षेप गरेको आरोप लगाएका छन्। उनले प्रतिपक्षले सरकारलाई जवाफदेही बनाउन खोज्दा सभामुखले साथ नदिएको गुनासो गरे।
