प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले सङ्घीयता, गणतन्त्र र समावेशिता जस्ता राजनीतिक उपलब्धिको रक्षाका लागि ‘अग्रगामी मोर्चा’ले सशक्त भूमिका खेल्ने उद्घोष गरेका छन्। शनिबार काठमाडौँमा आयोजित मोर्चा घोषणा कार्यक्रममा उनले वर्तमान सरकार जनभावना विपरीत र विचारविहीन रहेको टिप्पणी गरे।
परियारले युवाहरूको सपना र आदर्शलाई दक्षिणपन्थी शक्तिले दुरुपयोग गरेको आरोप लगाए। ती सपना साकार पार्न मोर्चा गठन गरिएको उनको भनाइ थियो। उनले सरकारलाई ‘जनताको सेवक’का रूपमा परिभाषित गर्दै ‘अभिभावक’ मान्ने परम्परा अन्त्य हुनुपर्नेमा जोड दिए।
मधेस र पहाडबीच सद्भावसँगै ‘समभाव’को आवश्यकता रहेको औँल्याउँदै परियारले मोर्चा गरिब, सुकुम्बासी, मजदुर र उत्पीडित वर्गको पक्षमा सडक र सदन दुवैबाट आवाज उठाउने प्रतिबद्धता जनाए।
नयाँ भनिएका राजनीतिक शक्तिले इतिहासको अवमूल्यन गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। उपेन्द्र यादव, जनार्दन शर्मा, प्रभु साह र रेशम चौधरी जस्ता नेताहरूको सङ्घर्षलाई कसैले नजरअन्दाज गर्न नमिल्ने बताए।
आठवटा राजनीतिक दलले ‘अग्रगामी मोर्चा’को औपचारिक घोषणा गरेका छन्। नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा शनिबार आयोजित समारोहमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीसहितले साझा अवधारणा पत्र सार्वजनिक गरे। मोर्चामा प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र खुम्बुवान राष्ट्रिय मोर्चा पनि सहभागी छन्।
