पश्चिम एसियामा अमेरिका र इरानबीचको सैन्य टकरावले तनाव चुलिएको छ। यसको प्रत्यक्ष असर विश्वव्यापी तेल बजारमा परेको छ। कच्चा तेलको मूल्य सात हप्ताकै न्यून बिन्दुबाट करिब एक प्रतिशतले बढेको छ।
अमेरिकी आक्रमणको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले बहराइनमा रहेको अमेरिकी नौसेनाको पाँचौं फ्लीटमा ड्रोन प्रहार गरेको छ। जोर्डनमा रहेको एयरबेसमा लामो दूरीका क्षेप्यास्त्र पनि प्रहार गरियो। इरानले जोर्डनको बेसमा अमेरिकी लडाकु जेटका ह्याङ्गर र मुख्य कमाण्ड सेन्टर ध्वस्त पारेको दाबी गरेको छ।
यसअघि, होर्मुज जलमार्ग नजिक इरानी सेनाले अमेरिकी अपाचे हेलिकप्टर खसालेको थियो। त्यसको प्रतिक्रियामा अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानका हवाई रक्षा, जमिन नियन्त्रण स्टेशन र रडार साइटहरूमा ‘आत्मरक्षा आक्रमण’ गरेको बताएको थियो।
इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई चेतावनी दिँदै भने, ‘यदि तपाईं सुरक्षित रहन चाहनुहुन्छ भने हाम्रो क्षेत्र छोड्नुहोस्।’
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरान युद्ध जारी राख्न नचाहेको बताए। उनले वार्ताबाट समाधान खोज्दै नयाँ प्रस्ताव गरिरहेको उल्लेख गरे। तर, इजरायली सेना प्रमुख इयाल जामिरले इजरायल इरानमाथि थप आक्रमण गर्न तयार रहेको चेतावनी दिएका छन्।
यस सैन्य तनाव र होर्मुज जलमार्गको जोखिमले विश्वव्यापी तेल बजार प्रभावित भएको छ। ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ९२.२९ अमेरिकी डलर पुगेको छ। अमेरिकी क्रुडको मूल्य ८८.९७ डलर पुगेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले क्षेत्रीय शत्रुता रोक्न र युद्धविराम कायम राख्न आह्वान गरेका छन्।
