वेस्ट इन्डिजका दिग्गज अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्समा अनुबन्धित भएका छन्। विश्वभरका फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा आक्रामक ब्याटिङ र प्रभावशाली बलिङका लागि परिचित रसेलको आगमनले एनपीएलको माहोल थप गर्माएको छ।
विराटनगर किंग्सले आइतबार सामाजिक सञ्जालमार्फत रसेललाई अनुबन्ध गरिएको जनाएको छ। रसेलको अनुभव र खेल क्षमताले टोलीको प्रदर्शनमा महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास विराटनगर किंग्सले व्यक्त गरेको छ।
रसेलको विश्वव्यापी विरासत
आन्द्रे रसेलले सन् २०१० मा वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो यात्रा सुरु गरे। उनी सन् २०१२ मा श्रीलंकामा भएको आईसीसी पुरुष टी–२० विश्वकप र २०१६ मा भारतमा भएको टी–२० विश्वकप जित्ने वेस्ट इन्डिज टोलीका महत्त्वपूर्ण सदस्य हुन्।
टी–२० क्रिकेटका सबैभन्दा खतरनाक अलराउन्डरमध्ये एक मानिने रसेल दबाबपूर्ण अवस्थामा पनि खेलको दिशा परिवर्तन गर्न सक्ने क्षमता राख्छन्। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सका निम्ति लामो समयदेखि प्रभावशाली प्रदर्शन गर्दै आएका छन्। विशेष गरी डेथ ओभरमा आक्रामक ब्याटिङ, छक्का प्रहार गर्ने र महत्त्वपूर्ण समयमा विकेट लिने क्षमताका कारण उनी फ्रेन्चाइज क्रिकेटमा निकै लोकप्रिय छन्।
यसबाहेक, उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) र बिग बास लिग (बीबीएल) लगायत विभिन्न अन्तर्राष्ट्रिय टी–२० प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन्। रसेलले ५९४ टी–२० खेलमा ९ हजार ६ सय ६२ रन बनाएका छन्, जसमा उनको ब्याटिङ स्ट्राइक रेट १६७.४५ र सर्वाधिक स्कोर १२१ रन रहेको छ। उनले ७८५ छक्का प्रहार गरेका छन्। बलिङतर्फ घरेलु टी–२० क्रिकेटमा ५३९ विकेट लिएका छन्।
विराटनगर किंग्सको उपाधि लक्ष्य
विराटनगर किंग्सले आन्द्रे रसेलजस्ता विश्वस्तरीय खेलाडीलाई आफ्नो परिवारमा स्वागत गर्न पाउँदा अत्यन्त उत्साहित रहेको बताएको छ। टोलीका अनुसार, उनको अनुभव, विस्फोटक ब्याटिङ र प्रभावकारी बलिङले टोलीलाई नयाँ उचाइमा पुर्याउने विश्वास छ।
विराटनगर किंग्सले यस सिजनमा केवल प्रतिस्पर्धा गर्नु मात्र नभई उपाधिका निम्ति बलियो दाबेदारी प्रस्तुत गर्ने लक्ष्य राखेको छ। रसेलको आगमनले टोलीमा आत्मविश्वास, ऊर्जा र जितको भोक थप्ने र विराटनगरका समर्थकलाई गर्व गर्ने अवसर दिने टोलीको विश्वास छ।
विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा उत्साहित रहेका रसेलले नेपाली क्रिकेट समर्थकमाझ आफ्नो खेल प्रदर्शन गर्न आतुर रहेको बताए। उनले एनपीएल–३ का निम्ति विराटनगर किंग्ससँग आबद्ध हुन पाउँदा निकै उत्साहित भएको र नेपाली क्रिकेट समर्थकको जोस र माया अनुभव गर्न आतुर रहेको उल्लेख गरे। मैदानमा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै समर्थकलाई मनोरञ्जन दिनु र विराटनगर किंग्सलाई उपाधि जिताउन योगदान गर्नु आफ्नो मुख्य लक्ष्य हुने रसेलले स्पष्ट पारे।
एनपीएल सिजन ३ को तयारी
रसेलको आगमनले एनपीएल सिजन ३ को माहोल झनै तताएको छ। यसअघि, काठमाण्डू गोर्खाजले अस्ट्रेलियाका पूर्व राष्ट्रिय क्रिकेटर डेभिड वार्नरलाई भित्र्याएपछि प्रतियोगिताको माहोल गर्माएको थियो।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट एसोसिएसन अफ नेपाल (CAN) द्वारा आयोजित एक फ्रेन्चाइज ट्वान्टी-२० क्रिकेट लिग हो। यसको तेस्रो संस्करण अक्टोबर २६, २०२६ (कात्तिक १०, २०८३) देखि नोभेम्बर २१, २०२६ (मंसिर ५, २०८३) सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) ले अक्टोबर १६, २०२६ मा नेपाल प्रिमियर लिगलाई आधिकारिक रूपमा स्वीकृति दिएको छ।
