विश्वप्रसिद्ध अन्नपूर्ण पदयात्रा क्षेत्रमा गत आर्थिक वर्ष २०८२/८३ मा उचाइको बिरामी (Altitude Sickness) का कारण २५ पर्यटकले ज्यान गुमाएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार, मुस्ताङमा १५, मनाङमा आठ, अन्नपूर्ण बेस क्याम्पमा एक र मर्दी हिमाल पदमार्गमा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा १२ नेपाली, नौ भारतीय र जापान, मेक्सिको, स्पेन र सिंगापुरका एक-एक नागरिक छन्। नेपाली मृतक मध्ये चार जना ट्रेकिङ गाइड र भरिया रहेको एक्याप प्रमुख डा. रबिन कडरियाले बताए।
सोही अवधिमा पदयात्राका क्रममा लडेर वा अन्य दुर्घटनामा परी पाँच जना पर्यटकको पनि मृत्यु भएको छ। मनाङमा भारी हिमपातका कारण एक भारतीय पर्यटकको ज्यान गएको थियो। हिम्लुङ हिमाल आरोहण गरेर ओरालो झर्दै गर्दा मनाङमा एक अस्ट्रेलियन आरोहीको मृत्यु भयो। म्याग्दीको खोप्रा लेक क्षेत्रमा पदयात्रा गर्ने क्रममा एक नेपाली र एक जर्मन नागरिकको पनि मृत्यु भएको छ।
विशेषगरी मुस्ताङ र मनाङका उच्च पहाडी क्षेत्रमा उचाइको बिरामीका घटना बढी हुने गरेका छन्। मनाङको तिलिचो ताल जाने क्रममा धेरै पदयात्रीको मृत्यु हुने गरेको छ।
डा. कडरियाका अनुसार, मुस्ताङ र मनाङ क्षेत्रमा सडक मार्गबाट छिटो उकालो लाग्ने नेपाली र भारतीय तीर्थयात्रीहरू पनि उचाइको बिरामीको उच्च जोखिममा छन्। उनीहरूले पर्याप्त समय नलिई छिटो उचाइमा पुग्ने भएकाले यस्तो समस्या हुने गरेको छ।
“पहाडी वा उच्च स्थानमा यात्रा गर्दा कहिल्यै पनि छिटो उचाइमा जानु हुँदैन। उकालो चढ्दा पर्याप्त आराम गर्नुपर्छ र उचाइको बिरामीका लक्षण देखिएमा तुरुन्तै तल्लो उचाइमा झर्नुपर्छ,” उनले भने।
यस्तै, पदयात्राका क्रममा लडेर हुने दुर्घटनाबाट पनि वर्षेनी पर्यटकको मृत्यु हुने गरेको छ। पर्यटन व्यवसायीहरूले लामो दूरीको पदमार्गमा एक्लै यात्रा नगर्न र समूहमा वा अनुभवी गाइड लिएर यात्रा गर्न सुझाव दिएका छन्।
गाइड देवेश घिमिरेका अनुसार, धेरै आगन्तुकहरू तल्लो उचाइबाट सिधै सवारी साधनमा मुक्तिनाथ र माथिल्लो मनाङ जस्ता उच्च स्थानमा पुग्दा उचाइको बिरामीको शिकार हुने गर्छन्। “उचाइको बिरामीबाट बच्ने उत्तम उपाय भनेको नियमित आराम गर्दै बिस्तारै उचाइमा जानु हो। पदयात्रीहरूले एकै दिनमा ५०० मिटरभन्दा बढी उचाइ नबढाउनु पर्छ,” उनले भने।
एक्यापको तथ्यांक अनुसार, आर्थिक वर्ष २०८१/८२ मा अन्नपूर्ण क्षेत्रमा १९ पर्यटकको उचाइको बिरामीले मृत्यु भएको थियो भने आर्थिक वर्ष २०८०/८१ मा २१ जनाको मृत्यु भएको थियो।
