म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी जन्मने अभिभावकलाई १२ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिने कार्यक्रम सुरु गरेको छ। यो कार्यक्रमले बालिका जन्मप्रति सकारात्मक सोच विकास गर्ने लक्ष्य राखेको छ।
गाउँपालिकाकी उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले चालु आर्थिक वर्ष २०८२/८३ मा रु पाँच लाख बजेट विनियोजन गरिएको जानकारी दिइन्। यस कार्यक्रमअन्तर्गत २०८२ साउन १ गतेपछि जन्मिएका छोरीका अभिभावकलाई प्रति छोरी १२ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिनेछ।
“छोरी जन्म प्रोत्साहन कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी बालिका जन्मप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको छ”, उपाध्यक्ष पुनले भनिन्। यो कार्यक्रम अन्नपूर्ण गाउँपालिकाको ‘छोरी जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन कार्यविधि, २०८२’ अनुसार कार्यान्वयनमा ल्याइएको हो।
यस कार्यक्रमले छोरी जन्मप्रति सकारात्मक सोच विकास गर्नुका साथै बालिकाको संरक्षण, शिक्षा र सशक्तीकरणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेका अनुसार, २०८२ साउन १ गतेपछि जन्मिएका बालिकाका अभिभावक वा संरक्षकले असार ७ गतेसम्म आवेदन पेस गर्नुपर्नेछ।
