NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सशस्त्र जवानको महाकाली नदीमा शंकास्पद मृत्यु: एसपीको नेतृत्वमा समिति गठन

डडेलधुराको परिगाउँ बीओपीबाट गस्तीमा गएका सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको महाकाली नदीमा शंकास्पद मृत्यु भएको छ। घटनाको छानबिन गर्न एसपी देवराज जोशीको नेतृत्वमा समिति गठन गरिएको छ। मृतक जवानका मामाको शव पनि सोही नदीमा फेला परेको छ।
Sanjay Karki
Sanjay Karki
3 June 2026, 9:47 am १ मिनेट पढाइ
आकार:
Share:

सशस्त्र प्रहरी जवान ओमप्रकाश पुन मगरको महाकाली नदीमा शंकास्पद मृत्यु भएको छ। जेठ १८ गते भारतको टनकपुरस्थित महाकाली नदीको पुलमुनि अड्किएको अवस्थामा उनको शव भेटिएको थियो।

जेठ १४ गते सशस्त्र प्रहरी निरीक्षक नरेशबहादुर चन्दको कमान्डमा २१ जनाको टोली सीमामा पैदल गस्तीमा गएको थियो। १५ गते राति हारबोर बीओपीमा बास बसेको टोलीको रोलकलमा पुन मगर अनुपस्थित देखिए। उनकी श्रीमती पनि परिगाउँ बीओपीमै कार्यरत छिन्। पुन मगर डडेलधुराको आलिताल गाउँपालिकाका स्थानीय हुन्।

घटनाको छानबिन गर्न सशस्त्र प्रहरीले नम्बर–७ बाहिनीका एसपी देवराज जोशीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। सशस्त्र प्रहरीका प्रवक्ता (डीआईजी) विष्णु भट्टले अहिलेसम्म कुनै तथ्य नखुलेको बताए।

रोलकलमा अनुपस्थित भएपछि खोजी सुरु गरिए पनि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले शव फेला पारेर खबर गरेपछि मात्र सशस्त्र प्रहरीले उनको मृत्युबारे जानकारी पाएको थियो। यो घटनामा सँगै गएका कमान्डर र सहकर्मीको गम्भीर लापरबाही देखिएको छ।

पोष्टमार्टमपछि परिवारले कैलालीको गोदावरीमा शव दाहसंस्कार गरेका छन्। मृतक पुन मगरका मामा तीर्थबहादुर थापाको शव पनि आइतबार महाकाली नदीमै फेला परेको छ। डडेलधुराकै पर्शुराम नगरपालिका–५ स्थित महाकाली नदीमा तैरिएको अवस्थामा भेटिएका ५५ वर्षीय थापाको मृत्युको कारण पनि खुल्न सकेको छैन। जोगबुडा अस्पतालमा पोष्टमार्टमपछि शव परिवारलाई बुझाइएको डडेलधुराका डीएसपी वरुण बहादुर सिंहले बताए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार