सङ्खुवासभा । ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको भारतका ऊर्जा सचिव पङ्कज अग्रवालले स्थलगत निरीक्षण गरेका छन्। एसजेभीएन अरुण तेस्रो पावर डेभलपमेन्ट कम्पनीले निर्माण गरिरहेको आयोजनाको बिहीबार निरीक्षण गरिएको हो।
सचिव अग्रवाल नेतृत्वको टोलीले चिचिला गाउँपालिकाको पुखुवास्थित भूमिगत विद्युतगृह र मकालु गाउँपालिकाको फ्याक्सिन्दास्थित बाँध क्षेत्रको अवलोकन गर्यो। निरीक्षण टोलीले सिभिल, इलेक्ट्रो–मेकानिकल संरचना, बाँध, इन्टेक प्रणाली तथा अन्य पूर्वाधार निर्माणको प्रगतिबारे जानकारी लियो।
समीक्षात्मक बैठकमा सचिव अग्रवालले दुर्गम हिमाली क्षेत्रमा आयोजनाले हासिल गरेको प्रगतिप्रति प्रसन्नता व्यक्त गरे। उनले गुणस्तर, सुरक्षा मापदण्ड र वातावरणीय दिगोपनलाई प्राथमिकतामा राखी निर्धारित समयसीमाभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिए।
भ्रमणमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, केन्द्रीय विद्युत् प्राधिकरणका अध्यक्ष घनश्याम प्रसाद, ऊर्जा मन्त्रालयका अतिरिक्त सचिव दिवाकरनाथ मिश्र, सहसचिव पङ्कज कुमार, एसजेभीएनका निर्देशक राजेशकुमार चान्देल सहभागी थिए।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पङ्कज चौधरीले निर्माण प्याकेज, पुनर्स्थापना, सामुदायिक विकास र वातावरणीय व्यवस्थापनबारे टोलीलाई जानकारी गराए।
